तरलताबाट उत्पादनतर्फ मोडिन खोज्दै आरबीबी

तरलताबाट उत्पादनतर्फ मोडिन खोज्दै आरबीबी तरुण खबर ११ माघ २०८२, आईतवार ११:११
तरलताबाट उत्पादनतर्फ मोडिन खोज्दै आरबीबी

राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) आजबाट ६० वर्ष पूरा गरी ६१औँ वर्षमा प्रवेश गरेको छ। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको यो बैंकले छ दशकको यात्रालाई पार गर्दै गर्दा मुलुकको बैंकिङ क्षेत्र नै एक संवेदनशील र निर्णायक मोडमा उभिएको छ।

लामो समयदेखि बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहँदै आएको छ। ब्याजदर ऐतिहासिक रूपमा घट्दो क्रममा रहे पनि लगानीको गति भने अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। यही सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले वर्तमान बैंकिङ अवस्था, चुनौती र सम्भावनाबारे स्पष्ट धारणा सार्वजनिक गरेका छन्।

सीईओ खनालका अनुसार अहिलेको बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो चुनौती नै अत्यधिक तरलता हो। ब्याजदर घटे पनि व्यवसायीहरूमा कर्जा लिएर नयाँ लगानी गर्ने आत्मविश्वास र मनोबल अझै बढ्न नसक्दा लगानीका अवसरहरू पर्याप्त रूपमा सिर्जना हुन सकेका छैनन्। निर्वाचनको वातावरण र राजनीतिक अन्योलका कारण उद्योगी–व्यवसायीहरू नियमित कारोबारमै सीमित हुन पुगेको उनको भनाइ छ।

उनले निर्वाचनपछि स्थिर सरकार बनेसँगै सकारात्मक वातावरण सिर्जना हुने र हालको तरलताको सही सदुपयोग हुने अपेक्षा व्यक्त गरे। स्थिरता आएपछि लगानीकर्तामा आत्मविश्वास बढ्ने र अर्थतन्त्र चलायमान हुने विश्वास उनको छ।

उत्पादनमुखी लगानी अपरिहार्य

खनालले अहिले कर्जाको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को हाराहारीमा पुगिसकेको उल्लेख गर्दै अब यो कर्जाले प्रतिफल दिनु अनिवार्य भएको बताए। हाल लगानी व्यापारमुखी क्षेत्रमा बढी र उत्पादनमुखी क्षेत्रमा कम रहेको उनको विश्लेषण छ। दीर्घकालीन आम्दानी, रोजगारी सिर्जना र आर्थिक स्थायित्वका लागि उत्पादनमुखी क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए।

केन्द्रीय बैंकले व्यक्तिगत कर्जाको सीमा बढाएको र सेयर कर्जाको सीमा हटाएको निर्णयले केही प्रभाव देखिए पनि यसले अर्थतन्त्रलाई प्रत्यक्ष रूपमा उत्पादनसँग जोड्न नसक्ने उनको भनाइ छ। दीर्घकालीन सुधारका लागि साना तथा मझौला उद्योग, किसान र ग्रामीण अर्थतन्त्रलाई केन्द्रमा राख्नुपर्ने उनको धारणा छ।

सम्भावनायुक्त क्षेत्र पहिचान

सीईओ खनालले खानी क्षेत्र, वैज्ञानिक वन व्यवस्थापन, जलविद्युत्, कृषि आत्मनिर्भरता र ठूला पूर्वाधार आयोजनालाई भविष्यका प्रमुख सम्भावनायुक्त क्षेत्रका रूपमा औंल्याएका छन्। देशभित्र रहेका खानीहरूको उत्खनन, वन स्रोतको वैज्ञानिक व्यवस्थापन र जलविद्युत् आयोजनामा लगानी बढाउन सके अर्थतन्त्रको स्वरूप नै परिवर्तन हुन सक्ने उनले बताए।

कृषि क्षेत्रमा चामल, धान, दलहन र तेलहनमा आत्मनिर्भर बन्ने गरी लगानी बढाउनुपर्ने आवश्यकता पनि उनले औंल्याए। साथै, बुढीगण्डकी र माथिल्लो अरुणजस्ता ठूला पूर्वाधार आयोजनामा लगानी गर्न सके दीर्घकालीन प्रतिफल प्राप्त हुने उनको विश्वास छ।

पर्यटन विकासका लागि हिमाल र संस्कृतिमा मात्र सीमित नभई धार्मिक तथा सांस्कृतिक क्षेत्रहरूको व्यवस्थित प्रवर्द्धन आवश्यक रहेको भन्दै त्यसका लागि सुरक्षित र छिटो सडक पूर्वाधार अपरिहार्य रहेको उनले बताए।

आरबीबीका लगानी प्राथमिकता

राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला ६ महिनामा करिब १९ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ। कम आधार ब्याजदरका कारण ग्राहकका लागि कर्जा सस्तो पर्न गएको बैंकको भनाइ छ। साना किसान र ग्रामीण क्षेत्रमा बैंकले करिब ७.७५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरिरहेको छ।

बैंकले किसान कर्जा, वैदेशिक रोजगार कर्जा, साना तथा मझौला उद्यम, ऊर्जा, कृषि र विपन्न वर्गमा केन्द्रीय बैंकका मापदण्डअनुसार लगानी गर्दै आएको जनाएको छ। यद्यपि, विश्वव्यापी भू–राजनीतिक अवस्था र आन्तरिक अन्योलका कारण लगानीकर्ताको उत्साह अझै पूर्ण रूपमा फर्किन नसकेको बैंकको मूल्याङ्कन छ।

सेवा सुधार र कर्जा सुरक्षा

सरकारी बैंक भएकाले सेवा प्रक्रिया झन्झटिलो भएको गुनासोलाई स्वीकार गर्दै सीईओ खनालले कागजात प्रक्रिया क्रमशः सरल बनाइँदै गएको बताए। कर्मचारीहरूको सोच र कार्यशैलीलाई निजामती मानसिकताबाट व्यावसायिक संस्कृतितर्फ लैजान निरन्तर प्रयास भइरहेको उनको भनाइ छ।

हाल बैंकको खराब कर्जा (एनपीएल) नियन्त्रणमै रहेको र विदेशी परामर्शदाताबाट कर्जा पोर्टफोलियोको समीक्षा गराइएको बैंकले जनाएको छ। बिना धितो कर्जा नदिने नीतिका कारण कर्जा समग्रमा सुरक्षित रहेको र जग्गाको मूल्य घट्दा देखिएको जोखिम पनि अत्यधिक तरलताका कारण व्यवस्थापन गर्न सहज भएको बैंकको निष्कर्ष छ।

६१औँ वर्षमा प्रवेशसँगै राष्ट्रिय वाणिज्य बैंकले तरलताबाट उत्पादनतर्फ अर्थतन्त्रलाई मोड्ने दिशामा आफूलाई सक्रिय रूपमा उभ्याउने संकेत दिएको छ।