तरुण खबर
११ माघ २०८२, आईतवार ११:१७
चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकको वित्तीय प्रदर्शन सन्तोषजनक देखिएको छ। अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा २५.२५ प्रतिशतले बढ्दै पहिलो ६ महिनामा १ अर्ब १ करोड ११ लाख रुपैयाँ पुगेको छ।
बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा बैंकले ८० करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यस वर्ष नाफामा आएको वृद्धिले बैंकको आम्दानी संरचना क्रमशः सुदृढ हुँदै गएको संकेत गरेको छ।
यद्यपि समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफामा भने केही दबाब देखिएको छ। साउनदेखि पुस मसान्तसम्म बैंकको सञ्चालन मुनाफा १०.२२ प्रतिशतले घटेर १ अर्ब ४५ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ६२ करोड २७ लाख रुपैयाँ रहेको थियो। इम्पेरमेन्ट चार्ज बढेर ५७ करोड ४२ लाख रुपैयाँ पुगेकाले सञ्चालन मुनाफामा दबाब परेको बैंकले जनाएको छ।
आम्दानीतर्फ भने बैंकको खुद ब्याज आम्दानीमा सकारात्मक सुधार देखिएको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ४.१६ प्रतिशतले बढ्दै २ अर्ब ९४ करोड १० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले २ अर्ब ८२ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
त्यसैगरी, खुद फि तथा कमिशन आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ। यस अवधिमा फि तथा कमिशन आम्दानी २२.१२ प्रतिशतले बढेर ८२ करोड ७ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ६३ लाख रुपैयाँ कायम भएको छ। यसका आधारमा वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ २२ पैसा रहेको छ।
सूचकका हिसाबले बैंकको अवस्था सन्तुलित देखिन्छ। प्रतिशेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ८४ पैसा बढेर १६ रुपैयाँ ७३ पैसा पुगेको छ भने मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १३.६१ गुणा कायम भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६१.६ रुपैयाँ रहेको छ।
पुँजी संरचनातर्फ बैंकको चुक्तापुँजी १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको छ। शेयर प्रिमियममा ३ करोड ८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ४३ करोड ६३ लाख रुपैयाँ तथा रिजर्भ कोषमा ६ अर्ब ९८ करोड १८ लाख रुपैयाँ रहेको छ।
कारोबार विस्तारको दृष्टिले पनि बैंकले सकारात्मक प्रगति गरेको छ। समीक्षा अवधिसम्म बैंकले २ खर्ब ४ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।


