चुनावी माहोलले अण्डा बजार चलायमान

चुनावी माहोलले अण्डा बजार चलायमान तरुण खबर ११ माघ २०८२, आईतवार ११:२३
चुनावी माहोलले अण्डा बजार चलायमान

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बजारमा अण्डाको माग उल्लेख्य रूपमा बढेको छ। माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः उकालो लाग्न थालेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको फार्म मूल्य बढाएको हो।

सङ्घका अनुसार अब ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य ४९५ रुपैयाँ पुगेको छ। यसअघि ठूलो अण्डा प्रतिक्रेट ४६५ रुपैयाँमा बिक्री हुँदै आएको थियो, जसअनुसार मूल्य ३० रुपैयाँले वृद्धि गरिएको हो। त्यस्तै, मझौला अण्डाको फार्म मूल्य पनि बढाएर ४७५ रुपैयाँ कायम गरिएको छ। यसअघि मझौला अण्डा ४४५ रुपैयाँमा बिक्री हुँदै आएको थियो।

यसअघि गत मङ्सिर महिनामा अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। सो समयमा ठूलो अण्डा फार्ममै प्रतिक्रेट ५६५ रुपैयाँमा र मझौला अण्डा ५५० रुपैयाँमा बिक्री भएको थियो।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार निर्वाचनको माहोल सिर्जना हुनु, निर्वाचनसँगै सीमा क्षेत्रमा गरिएको कडाइ तथा आपूर्ति प्रभावित हुनु अण्डाको मूल्य बढ्नुका मुख्य कारण हुन्। साथै, अण्डा उत्पादन गर्ने कुखुराको संख्या घट्नु, लामो समयपछि बन्द विद्यालयहरू खुल्नुजस्ता कारणले माग बढेको उनले बताए।

सङ्घका अनुसार हाल अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ। यस आधारमा किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ ६ पैसा पर्न जान्छ। लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः मूल्य घट्दा किसानहरू निराश बनेका थिए।

हाल मूल्यमा क्रमिक सुधार देखिन थालेपछि किसानहरू पुनः आशावादी बनेका छन्। सङ्घले बजारको अवस्था र उत्पादन लागतलाई ध्यानमा राख्दै अण्डाको समर्थन मूल्य समय–समयमा समायोजन गर्दै आएको जनाएको छ।