तरुण खबर
११ माघ २०८२, आईतवार ११:२५
हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको भण्डारगृहमा आगलागी भएको छ। आगलागी मुख्यतः स्टोर रुममा भएको हो, जहाँ साबुन उत्पादन सामग्री र प्याकेजिङ गर्ने कार्टुन राखिएका थिए।
स्थानीय प्रहरीका अनुसार, जस्तापाताबाट बनेको स्टोर रुममा बिजुलीको तार सर्ट भएसँगै आगो लागेको हो। आगलागीबाट धेरै सामग्री जलेको बताइएको छ। यद्यपि, अहिलेसम्म यस घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
हेटौँडाको पशुपतिनगर प्रहरी र सशस्त्र प्रहरी बल नेपालको १४ नम्बर गण (हेटौँडा)को संयुक्त टोली, हेटौँडा उपमहानगरपालिकाका दुई दमकल र स्थानीयहरूको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ।
प्रहरीले आगो फैलिन नदिन र अन्य भण्डार तथा उद्योगमा जोखिम नपरोस् भनी तत्परता अपनाइरहेको जनाएको छ। घटनाबाट प्रारम्भिक मूल्याङ्कन अनुसार आर्थिक क्षति भए पनि मुख्य प्राथमिकता मानवीय जीवनको सुरक्षा रहेको छ।


