तरुण खबर
११ माघ २०८२, आईतवार ११:४५
भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा ठूलो क्षति भोगेका भाटभटेनी सुपर स्टोर पुनर्निर्माण र पुनरुत्थान अभियानमा जुटेको छ। आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा स्टोर पूर्ण रूपमा जलेर ध्वस्त भए भने ८ वटा स्टोरमा आंशिक क्षति पुगेको थियो। लुटपाट, तोडफोड र आगजनीबाट करिब १६ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको भाटभटेनीले जनाएको छ।
विपत्तिका बीचमा पनि अध्यक्ष मीनबहादुर गुरुङले कर्मचारी कटौती नगरी, तलब र बोनस रोकिएन। दसैँको मुखमा संकट आए पनि उनले १० हजारभन्दा बढी कर्मचारीलाई निराश हुन दिएनन्।
कोटेश्वरस्थित भाटभटेनीको पुनर्निर्माणमा दैनिक १५ घण्टा खटिँदै आएका गुरुङले कम्पनीलाई अझ मजबुत बनाउने संकल्प व्यक्त गरेका छन्। उनले भविष्यमा ५० हजार नेपाली युवालाई रोजगारी दिने र कम्पनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने लक्ष्य अघि सारेका छन्।
खोटाङको किसान परिवारबाट व्यवसाय सुरु गरेका गुरुङले २०४१ सालमा श्रीमतीका गहना बेचेर सानो स्टोरबाट भाटभटेनीको यात्रा सुरु गरेका थिए। आज भाटभटेनी हजारौँ नेपालीको रोजगारी र भरोसाको आधार बनेको छ।
भाटभटेनीका अध्यक्ष गुरुङ भन्छन्, “भाटभटेनी मेरो परिवार हो, म मालिक होइन अभिभावक हुँ।” विपत्तिपछि पनि हार नमान्दै अघि बढेको भाटभटेनीको पुनरुत्थान अभियानले नेपाली निजी क्षेत्रका लागि उदाहरण प्रस्तुत गरेको छ।


