नक्कली उद्धार जालोमा कडाइ

नक्कली उद्धार जालोमा कडाइ तरुण खबर १२ माघ २०८२, सोमबार ११:२८
नक्कली उद्धार जालोमा कडाइ

नेपालमा चार्टर तथा नियमित उडानलाई उद्धारका रूपमा देखाएर विदेशी बीमा कम्पनीबाट रकम असुल्ने संगठित ठगी सञ्जाल सक्रिय रहेको खुलासा भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानले ट्रेकिङ तथा ट्राभल कम्पनी, हेलिकप्टर सेवा प्रदायक, अस्पताल र पर्यटक गाइडको मिलेमतोमा नक्कली उद्धार देखाएर करोडौँ रुपैयाँ बराबरको बीमा रकम हत्याइएको पुष्टि गरेको हो।

सीआईबीले आइतबार लाजिम्पाटस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत तथ्य सार्वजनिक गर्दै चार्टर उडानलाई उद्धारका रूपमा देखाई बीमा दाबी गर्ने क्रम लामो समयदेखि चलिरहेको जनाएको छ। ब्युरोका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीका अनुसार यी घटनाहरू वास्तविक उद्धार नभई योजनाबद्ध रूपमा गरिएका नक्कली उद्धार हुन्।

अनुसन्धानमा नियमित उडानलाई समेत उद्धार देखाई रकम दाबी गरिएको, उद्धारको समय, यात्रु विवरण र कागजात नक्कली बनाइएको पाइएको छ। एउटै चार्टर उडानमा आएका धेरै पर्यटकलाई फरक–फरक समय र फरक–फरक उद्धार देखाउँदै ‘मल्टिपल बिलिङ’ गरिएको प्रमाणसमेत फेला परेको सीआईबीले जनाएको छ।

पदयात्रा सकिएपछि सोही मार्ग हुँदै फर्कने पर्यटकलाई सहमत गराई चार्टर उडानमार्फत काठमाडौं ल्याइने र त्यसलाई उद्धारको रूपमा देखाइने गरेको अनुसन्धानबाट खुलेको छ। पछिल्लो पटक २०८१ पुस १ गते र यसअघि २०८२ असोज १२ गते नक्कली उद्धारसम्बन्धी उजुरी परेपछि अनुसन्धान तीव्र बनाइएको हो। यही पुस महिनामा गृह मन्त्रालयले समेत सीआईबीलाई औपचारिक अनुसन्धानका लागि पत्राचार गरेको थियो।

सीआईबीका अनुसार विदेशी पर्यटकलाई लक्षित गरी केही ट्रेकिङ तथा ट्राभल कम्पनी, हेलिकप्टर उद्धार कम्पनी, अस्पताल र गाइडको मिलेमतोमा नक्कली उद्धार हुँदै आएको छ। पछिल्ला तीन वर्षका यस्ता घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

छ जना पक्राउ, तीन कम्पनी अनुसन्धानको केन्द्रमा

साढे दुई महिनादेखि गठन गरिएको विशेष कार्यदलले नक्कली उद्धारमार्फत बीमा रकम हत्याएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, तथा एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी छन्।

यी तीन कम्पनीमार्फत मात्रै ३१७ जना पर्यटकको नक्कली उद्धार गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। माउन्टेन रेस्क्यु सर्भिसले सन् २०२२ देखि २०२५ सम्म १,२४८ जनाको उद्धार देखाएकोमध्ये १७१ जना नक्कली रहेको पाइएको छ, जसबाट १ करोड ३ लाख १० हजार २७६ अमेरिकी डलर बीमा रकम दाबी गरिएको थियो। नेपाल चार्टर सर्भिसले ४१७ जनामध्ये ७५ जनाको नक्कली उद्धार देखाएर ८२ लाख ३४ हजार ८२ डलर र एभरेस्ट कम्पनीले ६०१ जनामध्ये ७१ जनाको नक्कली उद्धार देखाएर ११ लाख ५३ हजार ९१९ डलर प्राप्त गरेको सीआईबीले जनाएको छ। कुल मिलाएर करिब १ करोड ९६ लाख ९० हजार अमेरिकी डलर बराबरको बीमा रकम नक्कली उद्धारमार्फत हत्याइएको दाबी गरिएको छ।

बीमा बजारमा असर

नक्कली उद्धारका घटना बढेपछि विदेशी बीमा कम्पनीहरू घाटामा पर्न थालेका छन्। यसकै कारण हाल तीन वटा बीमा कम्पनीले पर्यटक बीमाको प्रिमियम नै रोकिसकेको र अत्यधिक उद्धार देखाइएका केही दाबी अस्वीकारसमेत गरिएको सीआईबीले जनाएको छ।

गम्भीर कसुरमा अनुसन्धान

पक्राउ परेकाविरुद्ध संगठित अपराध, ठगी, लिखत किर्ते, आपराधिक लाभ, राज्यविरुद्धको कसुर तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। सीआईबीका अनुसार नक्कली उद्धारले नेपालको अन्तर्राष्ट्रिय छवि र पर्यटन क्षेत्रको विश्वसनीयतामा नकारात्मक असर पार्नुका साथै वास्तविक उद्धारको प्रतीक्षामा रहेका पर्यटकको ज्यानसमेत जोखिममा पार्न सक्छ। त्यसैले यसलाई गम्भीर संगठित अपराधका रूपमा लिइएको ब्युरोले स्पष्ट पारेको छ।

prvtrhnn_ttrkngg_ksstrm_bhek_fake_rescue_m_slgn_6_jn_vykthr_pkru_2082-10-11