तरुण खबर
१२ माघ २०८२, सोमबार ११:२९
वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४ खर्ब ३८ अर्ब २१ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान आयात भएको छ। गत आवको सोही अवधिसँग तुलना गर्दा १५.३० प्रतिशतले वृद्धि भएको भन्सार विभागले जनाएको छ। गत आवको पहिलो ६ महिनामा यो नाकाबाट ३ खर्ब ८० अर्ब ६ करोड मूल्य बराबरको आयात भएको थियो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको पहिलो ६ महिनामा आयातमा उल्लेखनीय वृद्धि देखिएको छ। यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी भएको छ। ९० अर्ब ६ करोड मूल्यको पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिइएको छ।
फलाम र फलामबाट बनेका सामानको आयात ३९ अर्ब ३ करोड, मेसिनरी तथा पार्टपुर्जा ३० अर्ब १ करोड, र भटमासको कच्चा तेल २७ अर्ब ७२ करोड मूल्य बराबर आयात भएको छ।
त्यस्तै, इलेक्ट्रिक मेसिनरी, उपकरण र पार्टपुर्जा आयात २४ अर्ब ६१ करोड, तथा कपडाहरू १९ अर्ब ४ करोड मूल्यमा आयात भएका छन्।
भन्सार विभागले यो वृद्धि आर्थिक गतिविधि र व्यवसायिक माग बढेको संकेतको रूपमा व्याख्या गरेको छ। यसले स्थानीय व्यापार र आपूर्ति श्रृंखलामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।


