बंगलादेश कपडा उद्योग निर्णायक मोडमा

बंगलादेश कपडा उद्योग निर्णायक मोडमा तरुण खबर १२ माघ २०८२, सोमबार ११:३९
बंगलादेश कपडा उद्योग निर्णायक मोडमा

विश्वकै ‘गार्मेन्ट हब’ बंगलादेशमा कपडा र गार्मेन्ट उद्योग अहिले गम्भीर चुनौतीको सामना गर्दैछ। बंगलादेशको वाणिज्य मन्त्रालयले भारतसहित विभिन्न देशबाट आयात हुने सूती धागोमा दिइँदै आएको भन्सार रहित (करमुक्त) सुविधा हटाउन सिफारिस गरेपछि उद्योगमा उथलपुथल मच्चिएको छ।

घरेलु धागो उत्पादकहरूले संरक्षणको माग गर्दै आएका छन् भने निर्यातकर्ता संघहरू अन्तर्राष्ट्रिय प्रतिस्पर्धा कायम राख्न भन्सारमुक्त आयातको आवश्यकता जोड दिँदै आएका छन्। बंगलादेश टेक्सटाइल मिल्स एसोसिएसन (बीटीएमए) का अनुसार यदि जनवरीको अन्त्यसम्म करमुक्त आयात सुविधा फिर्ता नलिइयो भने फेब्रुअरी १ देखि स्पिनिङ युनिटहरू बन्द हुने खतरा रहेको छ। यस कदमले करिब १० लाख कामदारको रोजगारी जोखिममा पार्ने र सामाजिक अस्थिरता निम्त्याउन सक्ने चेतावनी उनीहरूले दिएका छन्।

स्थानीय मिलरहरू दाबी गर्छन् कि सस्तो भारतीय धागोले स्थानीय उद्योगलाई आर्थिक संकटमा धकेलेको छ। ५० भन्दा बढी मिल बन्द भइसकेका छन् र हजारौँ कामदार बेरोजगार बनेका छन्। पछिल्ला तीन–चार महिनामा ग्यास संकटले उद्योगको उत्पादन क्षमता ५० प्रतिशतसम्म घटाएको छ।

कम्पनीहरूले सरकारसमक्ष पाँच बुँदे माग प्रस्तुत गरेका छन्:

  1. १०–३० काउन्ट सूती धागोमा करमुक्त आयात सुविधा खारेज

  2. सहुलियत दरमा ग्यास आपूर्ति

  3. मूल्य अभिवृद्धि कर (भ्याट)मा अस्थायी राहत

  4. बैंक ऋणमा ब्याजदर घटाउने

  5. उद्योगमा स्थायित्वका लागि सरकारसँग व्यापक संवाद

तर निर्यातकर्ता संघ बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन (बीजीएमईए) भन्छ, “घरेलु धागो महँगो र गुणस्तरमा कमजोर भएकाले भारतबाट आयात रोकिए उत्पादन लागत बढ्नेछ र विश्व बजारमा प्रतिस्पर्धात्मकता घट्नेछ।”