सुन्तलाले फकाएको दोसल्ले: गाउँमै समृद्धिको स्वाद

सुन्तलाले फकाएको दोसल्ले: गाउँमै समृद्धिको स्वाद तरुण खबर १३ माघ २०८२, मंगलवार १०:४७
सुन्तलाले फकाएको दोसल्ले: गाउँमै समृद्धिको स्वाद

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बजारमा राम्रो मूल्य पाउने रणनीतिसहित माघ लागेपछि सुन्तला टिपेर बिक्री गर्न थालेका छन्। देशका अधिकांश ठाउँमा सुन्तलाका बगैँचा रित्तिन थालेपछि दोसल्लेका किसानले ढिलो टिपाइलाई अवसरमा बदल्दै यस वर्ष उल्लेखनीय मूल्य पाउन सफल भएका हुन्।

स्थानीय किसानले यसपालि बोटमै प्रतिकिलो ८५ रुपैयाँका दरले सुन्तला बिक्री गरेका छन्। अघिल्ला वर्षमा मङ्सिर–पुसमा प्रतिक्रेट (२० किलो) १ हजार ७ सय रुपैयाँमा बिक्री हुँदै आएको सुन्तला यस वर्ष भने प्रतिक्रेट २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। स्थानीय विकास श्रेष्ठका अनुसार किसानले सस्तोमा सुन्तला बेच्नुपर्ने अवस्था अन्त्य गर्न सबै मिलेर न्यूनतम मूल्य निर्धारण गरिएको हो। उनले अन्यत्र सुन्तला सकिएकाले व्यापारीहरू प्रतिक्रेट ३ हजार २ सय रुपैयाँसम्म तिर्न तयार रहेको बताए।

बयालिस घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गत वर्ष सुन्तलाबाट करिब १ करोड ६० लाख रुपैयाँ भित्रिएको थियो। यस वर्ष केही बोटमा दाना कम भए पनि मूल्य बढ्नु र नयाँ बिरुवामा फल लाग्न थालेकाले समग्र उत्पादन गत वर्षकै हाराहारीमा रहने अनुमान गरिएको दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले जानकारी दिए। पोखरा र काठमाडौँका व्यापारीहरू बगैँचामै पुगेर सुन्तला खरिद गर्न थालेपछि अहिले गाउँमा धमाधम टिपाइ भइरहेको छ।

दोसल्लेका सबै घरधुरी सुन्तलाखेतीमा संलग्न छन्। सुन्तलाले राम्रो आम्दानी दिन थालेपछि गाउँबाट हुने बसाइँसराइसमेत रोकिएको छ। पहिले बेनी, पोखरा लगायतका सहरमा बसाइँ सरेका स्थानीय पुनः गाउँ फर्किएर बाँझो जमिनमा सुन्तला रोपण गर्न थालेका छन्।

“पहिले गाउँमै जीविकोपार्जन गर्न गाह्रो थियो, आम्दानीको स्रोत थिएन,” अध्यक्ष पाइजाले भने, “आज सुन्तलाखेतीले गाउँलेको जीवनस्तर बदलिएको छ।” उनका अनुसार दोसल्लेमा हाल करिब १० हजार सुन्तलाका बोट छन्। २०६८ सालमा पोखराबाट माटो परीक्षण विभागका विज्ञ बोलाएर माटो परीक्षण गरेपछि सुन्तलाखेती सुरु गरिएको र त्यसयता हरेक वर्ष विस्तार हुँदै आएको छ।

पहिले धान, मकै, कोदो र भटमास लगाइने खेतबारी अहिले सुन्तलाले ढाकिएको छ। नयाँ बोटले फल दिन थालेकाले आगामी केही वर्षमै दोसल्ले गाउँमा सुन्तलाबाट वार्षिक ३ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने स्थानीयको अनुमान छ।

सुन्तलाबाट निरन्तर आम्दानी हुन थालेपछि परम्परागत अन्नबाली छाडेर व्यावसायिक फलफूलतर्फ आकर्षण बढेको स्थानीय मायादेवी गर्बुजाले बताइन्। उनका अनुसार सुन्तलाखेतीले दोसल्लेलाई केवल आत्मनिर्भर मात्र बनाएको छैन, गाउँमै टिकेर भविष्य खोज्ने आधार पनि तयार पारेको छ।