तरुण खबर
१३ माघ २०८२, मंगलवार १०:५८
रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। ७४औँ भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले यो जानकारी दिएका छन्।
भट्टराईका अनुसार हाल करिब २०० वटा मालवाहक कन्टेनरको सामग्री परीक्षण भइरहेको छ। कार्यालयले विशेष कार्यक्रमको आयोजना गरी सोमबार भन्सार दिवस मनाएको थियो।
गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण सुक्खा बन्दरगाह क्षेत्रमा जमेको ढुङ्गा र बालुवा हटाउने काम नेपाल इन्टर मोडल यातायात विकास समितिमार्फत भइरहेको छ। प्रमुख भट्टराईका अनुसार हालसम्म करिब २५० वटा ट्रक अट्ने सरसफाइ सम्पन्न भइसकेको छ भने केही भागमा अझै सफाइ बाँकी रहेको छ।
सो अवसरमा उत्कृष्ट कार्य गर्ने दुई व्यवसायी र चार कर्मचारीलाई सम्मान गरिएको थियो। व्यवसायीतर्फ विद्युतीय सवारीसाधन आयात गरी गत आवमा ३ अर्ब २१ करोड रुपैयाँ राजस्व बुझाउने सिजी मोटर सप्लायर्स र ७४ करोड रुपैयाँ बराबरको सामग्री निर्यात गर्ने फिन्जो सोनाम सप्लायर्स, काठमाडौँलाई सम्मान गरिएको छ।
कर्मचारीतर्फ नायबसुब्बा रमेश ज्ञावली, इलेक्ट्रिसियन राजु ओली, हल्का सवारी चालक श्यामकुमार सिलवाल र कार्यालय सहयोगी नरेशदत्त जोशीलाई सम्मान गरिएको छ।


