तरुण खबर
१४ माघ २०८२, बुधबार ११:२८
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आगामी माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न लागेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेको थियो भने अब दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।
कम्पनीको कुल जारी पूँजी २ अर्ब रुपैयाँ रहेको छ र यसमध्ये २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्कासनको अनुमति पाइएको थियो। यसअघि विदेशमा रहेका नेपालीहरूका लागि ४ लाख कित्ता, सामूहिक लगानी कोषका लागि २ लाख कित्ता र कर्मचारीहरूका लागि ८० हजार कित्ता शेयर बाँडफाँट भइसकेको छ।
अब बाँकी ३३ करोड ३० लाख रुपैयाँ बराबरको ३३ लाख २० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ। इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ दरले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
कम्पनीका अनुसार आईपीओ आवेदन छिटोमा माघ २६ गते बन्द हुनेछ भने ढिलोमा फागुन ८ गतेसम्म स्वीकार गरिनेछ।
यस IPO मार्फत होटल फरेष्ट इनले लगानीकर्तालाई सहभागी गराएर पूँजी संकलन गर्ने लक्ष्य राखेको छ, जसले कम्पनीको व्यवसाय विस्तार र वित्तीय स्थायित्वमा सहयोग पुर्याउनेछ।


