तरुण खबर
४ चैत्र २०८२, बुधबार ११:३३
काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेड ले ग्लोबल मनी वीक २०२६ को सुरुवात चितवन क्लस्टरअन्तर्गतका शाखाहरूबाट प्रभातफेरी आयोजना गर्दै गरेको छ। विश्वव्यापी रूपमा मनाइने यस अभियानअन्तर्गत फाइनान्सले आफ्ना सम्पूर्ण शाखामार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
‘स्मार्ट मनी टक्स’ भन्ने मूल नारालाई आत्मसात गर्दै मन्जुश्री फाइनान्सले विभिन्न संघसंस्था, युवा तथा विद्यार्थीलाई लक्षित गरी विद्यालय र कलेजहरूमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। यस्ता कार्यक्रममार्फत वित्तीय ज्ञान अभिवृद्धि र सचेतना विस्तार गर्ने लक्ष्य राखिएको छ।
हालसम्म करिब २४ अर्ब रुपैयाँ निक्षेप संकलन तथा २०.६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेको फाइनान्सले २८ वटा शाखा र एउटा विस्तारित काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ। संस्थाले १ लाख ८७ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको जनाएको छ।
यसअघि नै मन्जुश्री फाइनान्सले आफ्ना ग्राहकहरूका लागि ‘मन्जुश्री भर्चुअल क्रेडिट कार्ड’ सेवा सञ्चालनमा ल्याइसकेको छ, जसले डिजिटल कारोबारलाई थप सहज बनाएको छ।
फाइनान्सका अनुसार यस प्रकारका कार्यक्रमले वित्तीय पहुँच बढाउने, सचेतना विस्तार गर्ने र ग्राहकमा सुरक्षित तथा स्मार्ट आर्थिक व्यवहारको विकास गर्ने विश्वास लिइएको छ।


