तरुण खबर
५ चैत्र २०७७, बिहीबार १७:१३
काठमाडौं । रुसले अमेरिकाको वासिङ्टनमा रहेका आफ्ना राजदूत अनाटोली एन्टोनोभलाई फिर्ता बोलाएको छ । अमेरिकासँगको क्षति जोगाउन भन्दै वार्ताका लागि फिर्ता बोलाएको हो । अमेरिकासँगको सम्बन्ध ’अँध्यारो गल्ली’को अवस्थामा पुगेको भन्दै रुसी सरकारले अनाटोली एन्टोनोभलाई मस्को बोलाएको हो । अमेरिकी चुनावमा रुसले दखल दिएको आरोपकाबीच राष्ट्रपति जो बाइडनले भ्लादिमिर पुटिनले त्यसको ’मूल्य चुकाउनुपर्ने’ भनेपछि मस्कोले यस कदम चालेको हो ।
एउटा सञ्चार माधयमसँगको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपतिले रुसले अमेरिकी चुनावी अभियानलाई कमजोर पार्ने प्रयास गरेको निष्कर्ष निकालेको एउटा अमेरिकी गुप्तचर प्रतिवेदनबारे प्रतिक्रिया जनाएका थिए । राष्ट्रपति बाइडनले त्यसक्रममा पुटिन एउटा क्षति पु-याउने व्यक्ति अर्थात् ’किलर’ रहेको आफूलाई लागेको धारणा पुष्टि गरेका थिए । जसमा पुटिनले चुनावी हस्तक्षेपका लागि अनुमति दिएको जनाइएको छ । उक्त प्रतिवेदनमा बाइडनलाई बदनाम गर्न र डोनल्ड ट्रम्पलाई प्रोत्साहन गर्नेगरी थुप्रै उपायहरू अपनाएको उल्लेख छ ।
ती उपायहरूमा मतदान प्रणालीप्रतिको विश्वास कमजोर गराउने र अमेरिकामा विभाजनलाई थप चर्काउने सम्मका रहेको जनाइएको बीबीसी न्यूजले उल्लेख गरेको छ । तर उक्त प्रतिवेदनको निष्कर्षमा रुस वा अन्य कुनै देशले मतदान वा मतगणना प्रभावित पारेको कुनै प्रमाण नभएको जनाइएको छ । हाम्रा लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको कठिन मोडबाट गइरहेको रुस–अमेरिका सम्बन्धलाई सच्याउने बाटो पहिचान गर्नु हो। वास्तविकताका आधारमा भन्नुपर्दा वासिङ्टनले त्यसलाई एउटा अँध्यारो गल्लीमा ल्याइदिएको छ ।


