तरुण खबर
६ चैत्र २०७७, शुक्रबार १७:११
काठमाडौं । ६ करोड ५३ लाख ७६ हजार ४४८ जनसंख्या भएको फ्रान्समा कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि राजधानी पेरिसमा एक महिनाको लागि लकडाउन घोषणा भएको छ । पेरिसका साथै देशका अन्य १५ शहरमा पनि शुक्रबार मध्यरातबाट लकडाउन लागू हुने छ । फ्रान्समा कोरोना भाइरसका कुल संक्रमितको संख्या ४१ लाख ८१ हजार ६०७ छ । कुल संक्रमितममध्ये ९१ हजार ६७९ जनाको संक्रमणबाट मृत्यु भैसकेको छ ।
फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले अहिलेको लकडाउनमा पहिलेको जस्तो कडा प्रतिबन्ध भने नरहने बताएका छन् । फ्रान्समा पछिल्लो २४ घण्टामा (१८, मार्च) कोरोना भाइरसका ३४ हजार ९९८ नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै १८ मार्चमा २६८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । १७ मार्चमा ३८ हजार ५०१ कोरोना भाइरसका संक्रमित देखिएका थिए भने २४१ जनाको संक्रमणबाट ज्यान गएको थियो ।
फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलिन सक्ने चेतावनी दिएका छन् । फ्रान्सका स्वास्थ्यमन्त्री ओलिविर वेरनले पेरिसको हालत अत्यधिक खराब भइरहेको बताएका छन् । नयाँ लकडाउनमा अत्यावश्यक बाहेकका सबै कामहरु बन्द रहने छन्। तर विद्यालय भने बन्द नगरिने भएको छ । सरकारको अनुमति बिना मानिसहरु एक ठाउँबाट अर्काे ठाउमा जान पाउने छैनन् । कोरोना भाइरसको खोप लगाउनमा ढिलाई गरेको भन्दै फ्रान्समा सरकारको आलोचना भइरहेको छ ।


