अक्सफर्ड–आस्ट्राजेनेका खोप ’सुरक्षित र प्रभावकारी’ ईएमएको निश्कर्ष

अक्सफर्ड–आस्ट्राजेनेका खोप ’सुरक्षित र प्रभावकारी’ ईएमएको निश्कर्ष तरुण खबर ७ चैत्र २०७७, शनिबार ०१:०२
अक्सफर्ड–आस्ट्राजेनेका खोप ’सुरक्षित र प्रभावकारी’ ईएमएको निश्कर्ष

कोभिड–१९ खोपमा प्रतिबन्ध लगाएका मुलुकले खोप लगाउन थाले
काठमाडौं । युरोपेली सङ्घ ईयूको औषधी नियामक ईएमएले गरेको एउटा समीक्षाले अक्सफर्ड–आस्ट्राजेनेका कोभिड–१९ खोप ’सुरक्षित र प्रभावकारी’ रहेको निष्कर्ष निकालेको छ ।

उक्त खोप र रगत जम्ने समस्याबीच सम्बन्ध हुनसक्ने भन्ने त्रासकाबीच १३ ईयू देशहरूले सो खोपमा अस्थायी प्रतिबन्ध लगाएपछि ईएमएले अनुसन्धान गरेको थियो । इटली, स्पेन र जर्मनी सहितका केही देशले उक्त खोपको प्रयोगलाई शुक्रवारबाट पुनः सुरु गर्ने घोषणा गरेका छन् ।

अहिलेसम्म १३ युरोपेली देशले आस्ट्राजेनेका खोपको वितरण कार्यलाई सावधानीका उपायका रूपमा भन्दै अस्थायी रूपमा रोकेका थिए। युरोपेली सङ्घ र ब्रिटेनमा गरेर झन्डै एक करोड ९० लाखले यस खोपको एउटा मात्रा लिइसकेका छन् ।

अक्सफर्ड–आस्ट्राजेनेका खोपको वितरणमा रोक लगाएपछि आलोचना खेपिरहेका कयौँ युरोपेली देशहरूले खोपको सुरक्षा सम्बन्धमा थप प्रष्टता खोजेका थिए । फ्रान्स, जर्मनी, स्पेन र इटलीले आफूहरूले युरोपेली सङ्घ ईयूको नियामक ईएमएको अनुसन्धानको नतिजा पर्खिरहेको बताएका थिए ।

युरोपमा कोरोनाभाइरस सङ्क्रमण पुनः बढेको अवस्थासँग जुझ्न सङ्घर्ष गरिरहँदा आस्ट्राजेनेका खोपबारे चर्को विभाजन देखा परेको हो । तर अब औषधी नियामक ईएमएले गरेको एउटा समीक्षाले अक्सफर्ड–आस्ट्राजेनेका कोभिड–१९ खोप ’सुरक्षित र प्रभावकारी’ रहेको निष्कर्ष निकालेपछी केही सहज भएको छ ।