तरुण खबर
७ चैत्र २०७७, शनिबार २३:३९
नेपाल–भारत सीमा क्षेत्रमा रहेका हेल्थ डेस्कलाई सचेत गराइएको सरकारी दावी
काठमाडौं । १ अर्ब ३८ करोड ९६ लाख ४२ हजार २५ जनसंख्या रहेको भारतमा कोरोनाभाइरसको सङ्क्रमण पुनः बढ्न थालेपछि त्यहाँ काम गर्न गएका नेपालीहरू स्वदेश फर्किन सक्ने सम्भावनाको आकलन गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सतर्कता अपनाइएको सरकारी दावी छ ।
भारतमा कोरोनाभाइरसका संक्रमितको संख्या १ करोड १५ लाख ५४ हजार ८९५ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपाल–भारत सीमामा रहेका १३ वटा हेल्थ डेस्कलाई सक्रिय बनाइएको सरकारी दावी छ । भारतको महाराष्ट्र, गुजरात, मध्यप्रदेश आदि राज्यमा कोरोनाभाइरस सङ्क्रमण फैलिने क्रम बढेको छ ।
रोजगारीका लागि भारतमा ठूलो सङ्ख्यामा नेपालीहरू बसोबास गर्ने र नजिकिएको फागु पूर्णिमाका बेला सीमावर्ती क्षेत्र हुँदै आवतजावत बाक्लो हुने हुँदा तत्काल सतर्कता अपनाइनुपर्ने अधिकारीहरूले बताएका छन् । पछिल्लो २४ घण्टामा भारतमा (चैत ७ गते शनिबार विहान ७.०० बजे) सम्ममा भारतले २३ करोड १३ लाख ७० हजार ५४६ जनाको नमुना परीक्षण गरिसकेको छ ।
१९ मार्चमा १० लाख ५७ हजार ४३० जनाको नमुना परीक्षण गर्दा ४० हजार ९५० जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । भारतका कुल संक्रमितमध्ये १ लाख ५९ हजार ५९४ जनाको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । भारतमा सक्रिय संक्रमितको कुल संख्या २ लाख ९० हजार १५२ छ ।
अहिलेको अवस्था कस्तो छ ?
कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण गर्न भन्दै गत वर्षको चैत्रमा गरिएको लकडाउन यता नेपाल भारत सीमा क्षेत्रमा यात्रुहरू बोकेका सवारी साधनको आवतजावत बन्द छ । यद्यपि अधिकांश नाकाबाट मानिसहरू हिँडेरै आवतजावत गरिरहेका छन् । झन्डै एक वर्षदेखि रोकिएका यात्रुवाहक सवारीसाधनहरूलाई खुल्ला गर्ने गृहकार्य सरकारी निकायहरूले गरिरहेका छन् ।
कोरोनाभाइरस सङ्क्रमणको लक्षण
पछिल्लो तथ्याङ्कअनुसार नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको कुल संख्या २ लाख ७५ हजार ७५० पुगेको छ । नेपालको कुल जनसंख्या २ करोड ९५ लाख ७ हजार ६३२ मात्र छ । र, शुक्रबार एकैदिन नेपालमा थप १२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको सरकारी तथ्याङ्क छ ।
केही महिनादेखि परीक्षणको संख्या घटेकाले कम संख्यामा संक्रमण पुष्टि हुने गरेको जनस्वास्थ्यविद्हरू बताउँछन् । केही समयदेखि नेपालमा पनि क्रमिक रूपमा कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेको सङ्केत देखा परेको छ । तर सक्रिय संक्रमितको संख्या एक हजारमा सीमित भएको छ ।
केही दिनदेखि सीमा–नाकालक्षित योजना बनाइरहेका अधिकारीहरूले अब सीमा क्षेत्रमा लक्षण देखिएकाहरूलाई परीक्षण गरेर मात्रै देशभित्र आउन दिइने तयारी रहेको बताएका छन् । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भारतका कुनै शहरमा रात्रिकालीन कर्फ्यू र नागपुरजस्तो शहरमा लकडाउन नै कार्यान्वयन हुँदा कामको सिलसिलामा रहेका नेपालीहरू बस्न गाह्रो भएर नेपाल फर्केर आउनुहुन्छ कि भन्ने हिसाबले हामी सचेत छौँ भनेका छन् ।
त्यहाँ जति कडाइ गरिँदै जान्छ नेपाल फर्केर आउने क्रम बढ्न सक्छ । त्यसैले हाम्रो पहिलो काम प्रवेशबिन्दुहरूमा रहेका हेल्थ डेस्कहरूलाई थप सचेत बनाउने र जिम्मेवारी थप्न लागेका छौँ उनले भने ।


