भारतीय जेलमा ४० वर्ष विताएका दीपक इलाम आउँदै

भारतीय जेलमा ४० वर्ष विताएका दीपक इलाम आउँदै तरुण खबर ८ चैत्र २०७७, आईतवार १६:४७
भारतीय जेलमा ४० वर्ष विताएका दीपक इलाम आउँदै

सञ्चारकर्मीको प्रश्नमा दीपकको मुख बन्द

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारतको कारागारमा थुनिएका नेपाली नागरिक दीपक जैसी तिम्सिनालाई शनिवार रिहा भई इलाम आउँदै छन् । उनलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको थियो । नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि उनलाई कोलकाताको दमदम कारागारबाट मुक्त गर्ने प्रक्रिया शुरु भएको थियो । प्रकाशचन्द्र र कोलाकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई कारागारमुक्त गरिएको थियो । दीपकलाई रिहा गर्न अदालतले आदेश दिए पनि उनको मुद्दा किनारा लागिनसकेको उनको पक्षबाट मुद्दा लडेका कोलकाताका कानुन व्यवसायीले बताएको बीबीसीले बताएको छ ।

जेलबाहिर तिम्सिनालाई माला लगाएर तथा मिठाइ ख्वाएर स्वागत गरिएको थियो । दमदम कारागारबाहिर सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो । कारागारमुक्त भएर चार दशकपछि बाहिरी संसार देख्न पाएका तिम्सिनालाई सञ्चारकर्मीहरूले केही प्रश्न गरेका थिए । तर उनले कुनै प्रतिक्रिया जनाएनन् । उनी कारागारमुक्त भएका बेला उनका पक्षमा मुद्दा लडेका कानुन व्यवसायी तथा उनको विषयमा सञ्चारमाध्यममा समाचार सम्प्रेषण गरेका पत्रकारहरू उपस्थित थिए । उनलाई रसबरी ख्बाएपछि एक शुभचिन्तकले उनको हातमा एउटा बट्टा दिन खोज्दै “यो तपाईँकी आमालाई लगिदिनुस्“ भनेको भिडिओमा सुनिएको थियो । तर उनको मानसिक अवस्थालाई ध्यानमा राखेर अदालते रिहा गर्न आदेश दिएको थियो ।

तिम्सिनालाई रिहा गर्न अदालतले सर्त राखेको थियो । त्यही सर्त परिवारका सदस्य तथा महावाणिज्य दूतावासले मानेपछि उनी शनिवार रिहा भएका हुन् । उनको बारेमा उनी पक्राउ परेको स्थान भारतको दार्जिलिङ वा कोलकाता उच्च अदालतलाई छ–छ महिनामा उनीबारे जानकारी गराउनु पर्ने सर्त अदालतले राखेको छ । दीपक जैसी तिम्सिना २०३७ सालदेखि इलामको एकतप्पास्थित उनको घरबाट हराएका थिए । तोरीको पोको बेच्नका लागि भनेर इलामको मङ्गलबारे हिँडेका उनी घर फर्किएका थिएनन् । त्यसपछि उनी रोजगारी खोज्दै भारतको दार्जीलिङ पुगेको बताइएको छ । उनलाई दमदम कारागारमा उनका परिवारका सदस्यले केही दिनअघि भेटेका थिए । त्यो बेला उनको मानसिक अवस्था ठिक नभएको परिवारका सदस्यले पाएको उनका काकाका छोरा प्रकाशचन्द्रले बताएका थिए । उनी बिनासुनुवाइ कोलकाताको दमदम केन्द्रीय कारागारमा रहेका थिए ।