तरुण खबर
१२ चैत्र २०७७, बिहीबार १६:५७
कोरोना संक्रमणका कारण होटल र पर्यटन व्यवसाय चौपट
काठमाडौं । कोभिड महामारीका कारण देशको अर्थतन्त्रमा गम्भीर असरहरू पारिरहेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । “हाम्रो समृद्धिको यात्रामा यसले गहिरो ठेस पु¥याएको छ,“ पौडेलले भने । राष्ट्रिय योजना आयोगले गरेको आकलन अनुसार नेपालको अर्थतन्त्रमा महामारीका कारण तीन खर्ब २२ करोड रुपैयाँको क्षति पुगेको र त्यसलाई उकास्न ६ खर्ब ६२ करोड रुपैयाँको लगानी आवश्यक पर्ने बताइन्छ ।
रोजगारी गुमाएका लाखौँ मानिस अनि व्यवसाय बन्द गर्न बाध्य व्यवसायीहरूका निम्ति सरकारले स्थानीय तहमार्फत् राहत उपलब्ध गराएको दावी गरेको छ । हामीले उनीहरूको मनोबल टुट्न नदिनका लागि नीतिगत एवम् व्यावहारिक कदमहरू चाल्यौँ । कोभिडको सन्दर्भमा सरकारले निःशुल्क परीक्षण, उपचारका साथसाथै सबैलाई निःशुल्क खोपका निम्ति आर्थिक स्रोतको प्रबन्ध गरिएको पौडेलले बताए । तर अर्थविद्हरूले भने सरकारले आर्थिक पुनरुत्थानका निम्ति आवश्यक प्याकेज ल्याएर थलिएका उद्योगीव्यवसायी तथा सर्वसाधारणलाई सहयोग गर्न नसकेको बताएका छन् ।
गत वर्ष चैत ११ गते लकडाउन घोषणा गरिएको थियो । नेपालीहरूले चीनबाट सुरु भएर विश्वव्यापी फैलिएको कोरोनाभाइरस महामारी आफ्नै दैलोमा व्यहोर्नु परेको थियो । यो एक वर्षको अवधिमा करिब पौने तीन लाख मानिस संक्रमित भए भने तीन हजारभन्दा धेरैको ज्यान गएको छ । जनस्वास्थ्यका अतिरिक्त महामारीले सबभन्दा धेरै प्रभाव जनजीविकामा पा¥यो । पछिल्ला केही वर्षहरूमा नेपालको आर्थिक वृद्धिदर लगातार झन्डै सात प्रतिशतको हाराहारीमा उक्लिरहेको थियो । अचानक आइपरेको कोभिड–१९ महामारी र त्यसलाई नियन्त्रण गर्न अपनाइएका लकडाउन जस्ता उपायका कारण आर्थिक वर्ष २०७६÷७७ को कुल गार्हस्थ्य उत्पादन जीडीपीको वृद्धि वा आर्थिक वृद्धिदर झन्डै दुई प्रतिशतले ऋणात्मक भयो । भूकम्प र नाकाबन्दीका बेलामा समेत नेपालको अर्थतन्त्र खुम्चिएको थिएन ।
सरकारले सुरुमा आकलन गरेकोभन्दा त निकै धेरै असर देशको अर्थतन्त्रमा परेको छ । यत्तिको धेरै असर आर्थिक वृद्धिमा पर्ला भन्ने ठानिएको थिएन । कोरोना भाइरसको महामारी हुँदाहुँदै पनि सवा दुई प्रतिशतले अर्थतन्त्र विस्तार हुनसक्ने ठानेकोमा अहिले तथ्याङ्क विभागले नै १.८८ प्रतिशतले अर्थतन्त्र खुम्चिएको आँकडा प्रस्तुत गरेको छ । अर्थतन्त्र खुम्चिएका कारण यसको प्रत्यक्ष असर गरिबीमा परेको देखिन्छ । योजना आयोगकै प्रतिवेदनमा पनि थप १२ लाख मानिस गरिबीमा धकेलिएको भन्ने विवरण आएका छन्,“ अर्का अर्थविद्हरुले बताएका छन् । यसले आगामी वर्षहरूमा गरिबी निवारण तथा दिगो विकास लक्ष्य हासिल गर्ने काम थप चुनौतीपूर्ण हुनसक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।
नेपालमा दशैँ ताका कोभिड महामारीको पहिलो लहरको उच्च विन्दु पुगेको थियो । त्यतिखेर एकातिर १५ लाख मानिसहरूले रोजगारी गुमाएको हुनसक्ने विवरण आएका थिए भने अर्कोतिर भारतबाट विभिन्न दुखकष्ट झेलेर देश फर्किएका मानिसहरू यहाँ काम नपाएर फेरि लर्को लागेर भारततिरै गइरहेका हृदय विदारक दृश्य सञ्चारमाध्यममा छरपस्ट भए । कोभिडका कारण पर्यटन, अनि साना तथा मझौला व्यवसाय धेरै प्रभावित भए ।
प्रत्यक्ष साढे चार लाख अनि अप्रत्यक्षसमेत गरी ११ लाख मानिस आश्रित पर्यटन क्षेत्र धराशायी जस्तै भएको छ । पर्यटनमा आश्रित उद्योगव्यवसाय आन्तरिक पर्यटकहरूका भरमा जेनतेन चलिरहेका छन् । “हाम्रो आकलनमा यस्ता उद्यमीमध्ये ४० प्रतिशतलाई अझैपनि कुनै न कुनै प्रकारको सहयोगको खाँचो छ,“ उद्योग बाणिज्य संघका अध्यक्ष दिवाकर गोल्छाको भनाइ छ ।


