भागरथी भट्टले न्याय पाउनेमा नेताहरुको आशंका

भागरथी भट्टले न्याय पाउनेमा नेताहरुको आशंका तरुण खबर २५ माघ २०७७, आईतवार १८:४८
भागरथी भट्टले न्याय पाउनेमा नेताहरुको आशंका

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड एवं माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भागरथी भट्टको हत्यारामाथि निर्ममतापूर्वक कारवाही गर्न माग गरेका छन् । त्यस्तै, बृहत् नागरिक आन्दोलनले पनि भट्टको ‘बलात्कारपछि हत्या’को गम्भीर छानबिन गरी घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेको छ ।

भागरथी भट्ट  विद्यालयबाट घर फर्किंदा बाटोबाटै बेपत्ता भएकी बैतडीको दोगडा–केदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भट्ट बिहीबार मृत अवस्थामा भेटिएकी थिइन् । उनको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ । उनका बुबाको दुई महिनाअघि मृत्यु भएको थियो, दाजु रोजगारीको सिलसिलामा भारतको दिल्ली गएका छन् । आमा द्रोपदी एक्लै छिन् । भागरथी भट्ट बैतडीको सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढ्थिन् ।

विगतको तुलनामा बलात्कारका उजुरी प्रहरीसमक्ष आउनेक्रम बढेपनि प्रारम्भिक अनुसन्धान तथा प्रमाण संकलन गर्ने पद्धतिमा सुधार नआएका कारण पीडितले न्याय नपाउने जोखिम कायम नै रहेको  छ । बलात्कारका घटनाको मुद्दालाई बलियो बनाई दोषी उम्कन नदिन अनुसन्धान गर्ने निकायलाई पीडितपक्षले सहयोगी बनाउनु पर्ने बताइन्छ । बलात्कार जस्ता अपराधको अनुसन्धान गरी पीडितलाई न्याय र दोषीलाई सजाय दिन कुनै कसर बाँकी नराख्ने सरकारी निकायले बताउँदै आएका पनि निर्मला पन्तजस्ता कयौंको बलत्कार र हत्याको घटनाका दोषी पक्राउ पर्न सकेका छैनन् ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले किशोरी भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । सभापति देउवाले शनिबार ट्विट गर्दै भागरथीको हत्याको खबरले आपूmलाई मर्माहित बनाएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । सभापति देउवाले लेखेका छन्– ‘बैतडीको दोगडा–केदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खबरले निकै मर्माहित भएको छु,’ । ‘उक्त घटनाको विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु । भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’

नेकपा अध्यक्षद्वय प्रचण्ड र नेपालले किशोरी भट्टको बलात्कारपछि भएको हत्याको भत्र्सना गरेका छन् । उनीहरूले शनिबार शोक वक्तव्यमार्फत घटनाले शान्ति–सुरक्षा दिन राज्यसंयन्त्र असफल प्रमाणित भएको र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । ‘भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले हामी स्तब्ध र मर्माहत भएका छौँ । विद्यालयबाट घर फर्किंदै गरेको वेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भत्र्सना गर्दछौँ,’ प्रचण्ड–नेपालको शोक वक्तव्यमा छ, ‘डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आमजनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आमनागरिकलाई शान्ति–सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ विज्ञप्तिमा भनिएको छ । साथै मृतक भट्टप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा वक्तव्यमा समावेदना व्यक्त गरिएको छ ।

त्यसैगरी पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि लैंगिक हिंसा र हत्या बढेको भन्दै गम्भीर कदम चाल्ने वेला आएको बताएका छन् । ‘फेरि अर्की १७ वर्षीया किशोरी भागरथी भट्टको बैतडीमा बलात्कार पछि हत्या ! निर्मला पन्त, सम्झना विकलगायतका कैयौँ किशोरीले जघन्य लैंगिक हिंसा–हत्या बेहोरिरहनुपर्ने र समाज–राज्य सामान्य लोकाचार निभाएर बस्ने स्थिति कहिलेसम्म ? गम्भीरतम कदम चाल्ने वेला भएन र ? ट्विटमार्फत डा. भट्टराईले सरकारसँग प्रश्न गरेका छन्, सरकार कता ?  यसैगरी बृहत् नागरिक आन्दोलनले पनि किशोरी भट्टको ‘बलात्कारपछि हत्या’को गम्भीर छानबिन गरी घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेको छ । बृहत् नागरिक आन्दोलनका तर्फबाट युग पाठकले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘भागरथी भट्टमाथि भएको यस किसिमको आततायी र मानवताविरोधी जघन्य अपराधको गम्भीर छानबिन गरी घटनामा संलग्न अपराधी पत्ता लगाई हदैसम्मको कारबाही गर्न बृहत् नागरिक आन्दोलन सरकारसँग जोडदार माग गर्दछ ।’