जवाफ नदिने अडानमा रहेका नेताहरुले प्रतिप्रश्न गर्दै स्पष्टिकरण दिए

जवाफ नदिने अडानमा रहेका नेताहरुले प्रतिप्रश्न गर्दै स्पष्टिकरण दिए तरुण खबर १३ चैत्र २०७७, शुक्रबार १७:१९
जवाफ नदिने अडानमा रहेका नेताहरुले प्रतिप्रश्न गर्दै स्पष्टिकरण दिए

आज शुक्रबार नेपाल–खनाल पक्ष केन्द्रीय कमिटीको छलफल

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टिकरण सोधेका नेताहरुले अध्यक्ष ओलीसँग प्रतिप्रश्न सोध्दै स्पष्टिकरण दिएका छन् । एमाले संसदीय दलको नेतालाई सांसदहरुले प्राप्त गर्ने गरको कारवाहीको अधिकार दलको नेतालाई दिइएकाले यो मुद्दा चर्केको हो ।

संसदीय दलको नेता केपी शर्मा ओली छन् । कसलाई सांसदबाट निश्कासन गर्ने वा नगर्ने अधिकार दलका नेता ओलीमा कायम रहेकाले पनि माधवकुमार नेपाललगायत चार जना नेता संकटमा परेका हुन् । कुनै समय स्पष्टिकरण सोधिएका नेताहरुले पत्रको जवाफ नदिने जानकारी दिएका थिए । र, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रवृतिविरुद्ध अन्तिम समयसम्म लड्ने दृढता पनि व्यक्त गरेका छन् ।

र, उनले भनेका छन्– नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा स्पष्टिकरण र कारवाहीको विषयमा छलफल हुनु आवश्यक छ भन्दै माधवकुमार नेपालले अवैधानिक किसिमले गठन गरिएको कुनै महाधिवेशन आयोजक कमिटीको कुनै पदाधिकारीले कुनै पनि प्रकारको पत्राचार गर्ने कार्य नै अवैध भई अमान्य रहेको स्पष्टिकरणको जवाफ दिदा जिकिर गरेका छन् ।

चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम  भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसपछि गत आइतबार महासचिव ईश्वर पोखरेलले उनीहरुलाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टीकरण माग गरेका थिए । नेपाल समूहका चार जना नेताले पत्रको जवाफ बिहीबार नै छुट्टाछुट्टै दिने तयारी गरेका थिए । जवाफसँगै नेपालसहितका नेताहरुले ओलीसँग पनि प्रतिप्रश्न गर्ने तयारी गरेका थिए । हिजो बिहीबार स्पष्टिकरण–पत्रको जवाफ दिएको बुझिएको छ ।

यता, ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभव कोशिस गरौँ । थोरै पनि लचकताबाट यो संभव छ । बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौं पछि धकेल्ने छ । अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ’, एमाले नेता योगेश भट्टराईले ट्विटरमा लेखेका छन् । नेकपाको एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वाेच्चको फैसलापछि एमालेभित्र पनि विभाजनको रेखा स्पष्ट देखिन थालेको छ ।

स्पष्टीकरण माग गरेको पत्र पाएपछि मंगलबार नेपाल समूहका स्थायी कमिटीका केही नेताहरु दिनभर छलफलमा बसेका थिए । शुक्रबार नेपाल समूहले उपलब्ध केन्द्रीय सदस्यहरुसँग छलफल राखेको छ ।