तरुण खबर
१५ चैत्र २०७७, आईतवार ०९:४०
काठमाडौं । कोभिड–१९ र उपत्यकामा प्रदुषण बढेका कारण फागु खेल्न सरकारले प्रतिबन्ध लगाएको छ । नेपाल र भारतका १४ शहरमा अत्याधिक प्रदुषण बढेको छ । त्यसैले यस वर्षको होली (फागु) फिक्का हुने भएको छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर–विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर–लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको मानिन्छ । वसन्त ऋतुमा नै धेरै उत्सवका पर्वहरू पर्दछन् ।
नेपालमा फागु पूर्णिमा र भारत होली पर्व मनाइन्छ । भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमाको दिन प्रमुख चाडको रुपमा मनाउने गरेका छन् । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग यस चाडलाई जोडेर हेरिन्छ, । हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन् भनिन्छ । बिष्णु भक्त प्रल्हादलाई केही नभएको सम्झनामा होली पर्व मनाउन सुरू भएको हो ।
यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ भने होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउने गर्थे । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास भएको बताइन्छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । साना–साना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा–युवतीहरू गीत गाउँदै–नाच्दै होली खेल्छन् ।
भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक–अर्कासित एक प्रगाढ सम्बन्ध स्थापित गर्दछन् भनिन्छ । यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार–साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । नेपाल र नेपालीको सप्त‘रङ्ग’ र सप्तरंगी पुष्पकोे पर्व पनि हो– फागुपूर्णिमा । पहाड, हिमाल सवैतिर मनाउने र सामाजिक सद्भाव बढाउने पर्व पनि वसन्तोत्सव पर्व हो ।


