तरुण खबर
१५ चैत्र २०७७, आईतवार ०९:४३
आइतबार मौसममा सुधार नहुने, सोमबारदेखि केही सुधार हुने विज्ञहरुको अपेक्षा
काठमाडौं । काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरूले सावधान हुन आग्रह गरेका छन् । चिकित्सकहरूका अनुसार अहिलेको जस्तो वायु प्रदूषणले विशेषतः मानिसको फोक्सो र आँखामा सङ्क्रमण हुनसक्छ । वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत शुक्रवार सबैलाई सावधानी अपनाउन आग्रह गरेको थियो । मन्त्रालयले वक्तव्य जारी गर्दै सर्वसाधारणलाई स्वास्थ्यको ख्याल गर्न, घरबाहिर ननिस्कन, अनावश्यक रूपमा सवारीसाधन नचलाउन, फोहोर नचलाउन र धूलो र धुवाँ उत्पन्न हुने खालका निर्माण कार्य नगर्न आग्रह गरेको छ ।
चिकित्सकहरूका अनुसार काठमाण्डौं उपत्यकामा अहिले देखिएको प्रदूषणका कारण सावधानी नअपनाएमा मानव स्वास्थ्यमा गम्भीर खालको असरहरू पनि पर्न सक्ने सम्भावना छ । प्रदुषणका कारण आँखाबाट आँसु आइरहने, आँखा रातो हुने, चिलाउने र दुख्ने, आँखाको डिल सुन्निने तथा भाइरस वा ब्याक्टेरिया प्रवेश गरेमा सङ्क्रमण हुने जोखिम बढ्ने विज्ञहरुले बताएका छन् । त्यस्तै यस्तो प्रदूषणको दीर्घकालीन प्रभाव भनेको आँखाको लेन्स नै बिग्रिने र मोतीबिन्दु वा जलबिन्दु पनि हुनसक्ने बताइन्छ । मौसमविद् गंगा नगरकोटीले संचार माध्यमलाई बताए अनुसार आइतबारसम्म मौसम स्थिर रहने र सोमबारदेखि केही बादल विकसित भई हावा पनि चल्ने देखिएकाले मौसममा केही सुधार आउने सम्भावना रहेको छ ।
केही दिनदेखि उपत्यकामा बढिरहेको वायु प्रदूषणको मात्रा शुक्रवार एकाएक उच्च तहमा पुगेको थियो । शनिवार पनि उपत्यकाको आकाशलाई तुवाँलोले ढाकेको छ । उपत्यकामा यस्तो अवस्था अझै केही दिन रहन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । अधिकारीहरूका अनुसार उपत्यकाभित्र आकाशै ढाक्नेगरी तुँवालो लाग्नुका विभिन्न कारणहरू छन् । एउटा कारण यस पटक हिउँदमा वर्षा नहुनु र वायुमण्डलमा धुवाँ तथा धूलोको मात्रा बढी हुनु भएको वातावरण विभागको प्रदूषण नियमन तथा नियन्त्रण शाखाका प्रमुखहरुले जानकारी दिएका छन् ।
पानी नपर्ने र हावा नचल्ने कारणले यस्तो भएको हो । केही दिनदेखि वायुमण्डलमा रहेको प्रदूषणको मात्रा उच्चबिन्दुमा पुगेकाले अहिलेको अवस्था आएको विज्ञहरुको भनाइ छ । यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको वन तथा भूसंरक्षण विभागका उपसचिव तथा डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले बताएका छन् ।
सातादिनमा एक पटक पनि पानी नपरे आगामी दुई महिनासम्म आगलागीको जोखिम उत्तिकै हुने भएकोले जङ्गलनजिकै भएका बस्तीहरू थप सचेत बन्नुपर्ने छ । नेपालमा सामान्यतया चैत्रदेखि जेठसम्म बढी आगलागी हुने गर्छ । विभागको अनुगमन प्रणालीका अनुसार शुक्रवार ४७ जिल्लाका झन्डै पाँच सय स्थानमा डढेलो लागेको थियो ।


