माधव नेपालद्वारा ओली विरुद्ध विद्रोह गर्न आह्वान

माधव नेपालद्वारा ओली विरुद्ध विद्रोह गर्न आह्वान तरुण खबर १७ चैत्र २०७७, मंगलवार ११:१७
माधव नेपालद्वारा ओली विरुद्ध विद्रोह गर्न आह्वान

अध्यक्ष ओलीद्वारा आफ्ना विरोधी नेतामाथि कारवाहीको डण्डा
काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशभरका कार्यकर्ताहरूलाई दृढताका साथ केपी ओली गुटविरुद्ध सङघर्षको मैदानमा उत्रिन आह्वान गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली सामु कसैले आत्मसमर्पण गर्न जरुरी छैन । दृढताका साथ मोर्चामा उभिनुपर्छ । आन्दोलनको पक्षमा अघि बढ्नुपर्दछ नेपालले भनेका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि गरिएको निलम्बनको कारबाहीपछि प्रचण्डसँग नमिलिकनै अलग्गै रूपमा नेकपा एमालेको पुनर्गठन गर्ने बताएका छन् । नेपालले देशभरि ’जिल्ला कमिटीहरू पुनर्गठनको अभियान सुरु भइसकेको’ जानकारी दिएका छन् ।

हिजो सोमबार अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका थिए । पत्रमा पार्टी हितविपरित गतिविधिहरू कायम रहेमा जुनसुकै वेला पनि थप कडा कारबाही गर्ने चेतावनी दिइएको छ । साथै पार्टीविरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकैपटक कडा कारबाही गर्नुभन्दा हाललाई पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारी तथा पार्टी सदस्यताबाट निलम्बन गरिएको भनिएको छ ।

पत्र भनिएको छ– पष्टीकरणमा सोधिएअनुसार भूल स्वीकार र आत्मालोचना नगरेको, आफ्नो स्वार्थका लागि देश, जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पु¥याउन तयार भएकाले आपराधिक मनोवृत्ति प्रस्ट रूपमा देखिएको आरोप लगाएका छन् । यो प्रकरणपछि एमाले विभाजन हुने निश्चित भएको छ ।

नेपाल र रावलको कारवाहीले एमालेमा थप द्वन्द्व चर्कने अबस्था देखिएको छ । एमाले अध्यक्ष ओलीले पार्टीको विधान २०४९ (संशोधन २०७१ समेत) धारा ४९(ख) बमोजिम हाललाई ६ महिनाका लागि निलम्बन गरिएको जानकारीसहितको पत्र नेपाल र रावललाई पठाएका हुन् । तर नेता नेपालले भने निलम्बन गरेको भनिएको उक्त पत्र आफूले प्राप्त नगरेको र यदि गरिएको भए त्यो अवैधानिक भएको भन्दै अस्वीकार गर्ने बताएका छन् । स्पष्टीकरण नबुझाएका घनश्याम भुसाल लगायतका नेताहरुलाई पनि क्रमशः कारवाही गर्दै जाने नीति अध्यक्ष ओलीले लिएका छन् ।
महासचिव ईश्वर पोखरेलमार्फत एमाले अध्यक्ष ओलीले ९ चैतमा पार्टी हितविपरीत गतिविधि गरेको भन्दै चार नेतालाई सोधेको स्पष्टीकरणको नेपाल र रावलले ओलीले नै प्रतिस्पष्टीकरण दिनुपर्ने तर्कसहित १२ चैतमा जवाफ बुझाएका थिए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले केन्द्रीय कमिटीले नै कारबाही गर्ने जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको पनि जनाएका छन् । वरिष्ठ नेता नेपाललाई कारबाही गरिएको भनी सार्वजनिक गरिएको पत्र अनुसार उनलाई सच्चिने मौकाका लागि हाललाई उक्त कारबाही गरिएको उल्लेख छ ।

यसअघि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा आन्तरिक विवादमा फस्दा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपाल समूहले प्रधानमन्त्री ओलीलाई दलको साधारण सदस्य नरहने गरी पार्टी अध्यक्षबाट हटाइएको थियो ।