सात दर्जन हलबाट चलचित्र ‘लाइफ एन एलए’

सात दर्जन हलबाट चलचित्र ‘लाइफ एन एलए’ तरुण खबर ६ जेष्ठ २०७९, शुक्रबार १३:१८
सात दर्जन हलबाट चलचित्र ‘लाइफ एन एलए’

काठमाडौं । स्थानीय निर्वाचनको परिणाम आउने क्रम सकिन लागेपछि नेपाली चलचित्र रिलिजको तरखरमा निर्माता जुटेका छन् । यसैक्रममा आज शुक्रबार ६ जेठबाट नेपालका सात दर्जन बढी सिनेमा हलमा नेपाली चलचित्र ‘लाइफ इन एलए’ रिलिज हुने भएको छ । यो साता लाइफ इन एलए फिल्मले एकल प्रदर्शनी हुने अवसर पाएको छ । अर्को नेपाली चलचित्र सम्झना बिर्सनाको प्रदर्शनी मिति सरेको छ ।

विगत डेढ दशकदेखि अमेरिकामा बस्दै आएका नेपाली निर्देशक सूर्य नारायण श्रेष्ठले यो चलचित्र निर्देशन गरेका हुन् । चलचित्रको रिलिजअघि बुधबार बेलुका ललितपुरको क्युएफएक्स लविम मलमा प्रिमियर गरिएको थियो । फिल्मले प्रिमियर सोमा मिश्रित प्रतिक्रिया पाएको छ ।

चलचित्र हेरेपछि निर्देशकहरू दीपाश्री निरौला, प्रकाश सायमी, दीपक श्रेष्ठले विदेशमा बसेर पनि नेपाली जीवन कथाको फिल्म सूर्यले तयार गरेको बताए ।

प्रिमियर सोमा यो फिल्म हेरेपछि पूर्वडीआईजी रमेश खरेलले निर्माता ब्यास बिस्सुले आफ्नो लाइफसँग जोडेर सिनेमा बनाएकाले कति दृश्यमा आफू गम्भीर र भावुक भएको बताए ।

अभिनेता सन्दीप क्षेत्री, नेपाली फुटबल टिमका पूर्वकप्तान विराज महर्जन, खेलाडी भरत खवास, नेपाली महिला फुटबलर अञ्जना थापा मगरले यो चलचित्र हेरेपछि नेपालीहरूले अमेरिकामा कतिसम्म संघर्ष गर्नुपर्नेरहेछ भन्नेबारे छर्लंग भएको प्रतिक्रिया दिए । प्रिमियर सोमा बोल्दै यो चलचित्रका सूर्यनारायण श्रेष्ठले अमेरिका जान चाहनेहरूले यो फिल्म हेर्दा धेरै कुरा सिक्न र बुझ्न सकिने बताएका छन् ।

चलचित्रमा प्रिमियर शोमा ब्यास बिसु, आकेशा विष्ट, शिल्पा मास्के, बुद्धि तामाङ, लोकेन्द्र लेखकसहितका कलाकार पनि थिए । दर्शकको राम्रो प्रतिक्रिया पाएकोमा उनीहरूले खुसी व्यक्त गरे ।

यसका निर्माता तथा अभिनेता बिस्सु दर्शकलाई पनि सिनेमा मन पर्नेमा आशावादी देखिएका छन् । ‘सबैले अमेरिका कस्तो छ भनेर सोच्छन्, सिनेमाले त्यो देखाएको छ । मैले पनि अमेरिका जाँदा कति दुःख पाएको थिएँ भन्ने कुरा यो फिल्मबाट देखाएको छु ।’

यो चलचित्रको ६० प्रतिशत छायांकन अमेरिकाको लस एन्जलस (एलए) र बाँकी छायांकन नेपालमा गरिएको हो । अमेरिका र नेपालमा छायांकन गरिएको सिनेमा लाइफ इन एलएको निर्माता ब्यास बिस्सु, कार्यकारी निर्माता संसार सुवेदी, हुन् ।

त्रिकोणात्मक प्रेमकथा आधारित यो चलचित्रको अन्य कलाकारमा गौरव पहारी, प्रकाश घिमिरे, निलम चन्द, जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायत छन् ।

सिनेमामा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास, प्रविसा अधिकारी र कविता श्रेष्ठ स्वर छ । सिनेमाको अमेरिकाको भाग छायांकन क्रिस वारेन र एडवर्ड युकेन गरेका हुन्, भने नेपालको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । जसमा भूपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन, कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । यो चलचित्रले अमेरिकाबाट ८० प्रतिशत लगानी उठाएपछि नेपालमा रिलिज गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।