तरुण खबर
२३ चैत्र २०७७, सोमबार १२:२४
खनाल–नेपाल समूहले काठमाडौंमा कमिटी बनायो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाल–खनाल समूहले देशभर समानान्तर कमिटी बनाउने योजना अनुसार हिजो आइतबार काठमाडौं जिल्ला कमिटी बनाएको छ । यसअघि एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले देशभरका सबै वडातहसम्म कमिटी बनाउने अभियान घोषणा गरेको थियो । स्थायी कमिटीको अस्ती शनिबार बसेको अनौपचारिक बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र हुँदै वडा र टोलसम्म पार्टी र जनसंगठन दुवैमा कमिटी बनाउने गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
तर वडैसम्म समानान्तर कमिटी र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ‘गलत प्रवृत्ति’ विरुद्ध देशव्यापी भण्डाफोर अभियान घोषणा सञ्चालन गरेको एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूह सरकारको विषयमा भने नरम देखिएको छ ।जबकि यो समूहले संसद् विघटनदेखि प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि गम्भीर राजनीतिक र नैतिक प्रश्न उठाउँदै आएको थियो । बसन्त मानन्धरको अध्यक्षतामा २ सय २५ सदस्यीय काठमाडौँ जिल्ला कमिटी गठन गरेको हो ।
हिजो आइतबार काठमाडौँ जिल्ला अगुवा कार्यकर्ता भेलामा नेपाल–खनाल समूहले उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुकुमार कार्की र सहसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठलाई चयन गरिएको छ । आइतबार बुद्धनगरमा भएको नेपाल–खनाल समुहको भेलाले समानान्तर कमिटीलाई निरन्तरता दिएको हो । उक्त समूहले देशभर समानान्तर कमिटी गठनलाई तिब्रता दिएको छ । प्रधानमन्त्री केपी ओली समूहले पार्टी र जनसंगठनका पूर्ववत् कमिटी ब्युँताएर क्रियाशील बनाउन अस्वीकार गरेको निष्कर्ष निकाल्दै खनाल–नेपाल समूहले तीनमहिने पार्टी कमिटी निर्माण अभियान चलाउन लागेको हो ।
ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि पार्टी सदस्यताबाट ६ महिना निलम्बन गर्ने कारबाही गरेपछि खनाल–नेपाल समूह आक्रामक रूपमा समानान्तर जिल्ला, गाउँ वा नगर र वडा तहसम्म कमिटी बनाउने गतिविधिमा सक्रिय बन्दै गएको हो । त्यही सिलसिलामा खनाल–नेपाल समूहले देशभर अभियान सार्वजनिक गर्ने तयारी गरेको थियो ।


