तरुण खबर
३१ चैत्र २०७७, मंगलवार १०:४४
मैले टाँसी दिएको जुँगा, केही दिनका लागि मजा लिए हुन्छ – ओली
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सरकारलाई दिएको समर्थन फिर्ता लगिहाल्न चेतावनी दिएका छन् । किन मेरो राजिनामा माग्नु हुन्छ, तपाईको समर्थन मलाई आबश्यक छैन । प्रधानमन्त्री ओलीले भने– पुष्पकमल दाहाल देश द्रोही हुन्, विकास विरोधी हुन् र जनविरोधी पनि हुन् । त्यसैले उहाँको समर्थन मलाई अबश्यक छैन, मसँग बहुमत छ ।
बहुमत भएको सरकारको प्रधानमन्त्रीले किन राजीनामा दिने ? प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरे । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र कम्युनिस्ट आन्दोलनका नाममा नक्कली कुरा गर्नेहरू सल्बलाइरहेको बताए । विगतमा विभिन्न किसिमका सपना बाँडेर युवाहरूलाई युद्धमा लगाउनेहरू नै अहिले लोकतन्त्र र अग्रगामी कदमविरुद्ध लागेको ओलीको दाबी छ । झन्डै दुईतिहाइको पार्टी फुटाएर वर्तमान सरकार ढाल्नका लागि अरूसँग बिन्ती गर्दै हिँडेको भनी प्रधानमन्त्री ओलीले व्यंग्य पनि गरेका थिए ।
पुष्पकमल दाहाल प्रचण्डतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले (आफू) जिताइदिएकाले अहिलेको हैसियत प्राप्त गरेको भन्दै उनले केही दिनमा त्यो हैसियत पनि खोस्ने चेतावनी दिए । ओलीले भने– सदस्यताबाट निष्कासन गरेर धित पु-याए हुन्छ । हामीले टाँसिदिएको जुँगाको मजा लिए हुन्छ । अलिक दिनपछि त्यो जुँगा हामी निकाल्दिन्छौँ, त्यसपछि सक्कियो । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौती पनि दिएका थिए ।
प्रधानमन्त्री ओलीको राजीनामा माग्ने पुष्पकमल दाहाल प्रचण्डले केही दिनदेखि उनलाई हटाउने ठोकुवा गर्न थालेका छन् । जसपा वरिष्ठ नेता राजेन्द्र महतोले सरकारले (जसपाको) माग सम्बोधन गर्ने प्रकृया शुरु गरिसकेकाले त्यसलाई विथोल्ने गरी कुनै निर्णय नगरिने बताएका थिए । संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीलाई प्रतिगामी भन्दै उनको विकल्पमा सरकार बनाउनुपर्ने पक्षमा छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता महतो माग सम्बोधन गराउने सर्तमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सहयोग गर्न सकिने धारणा राख्दै आएका छन् ।
जसपाको समर्थन विना नयाँ सरकार बन्न सक्दैन । जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले केही दिनअघि काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री ओलीविरुद्ध प्रस्ताव लैजानुस् नत्र मलाई साथ दिनुस् भनी आग्रह गरेका थिए । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले डा. भट्टराईलाई साथ नदिने पक्का पक्की छ ।
पूर्वसमाजवादी र राजपा नेपालका १७–१७ जना सांसद रहेका छन् । त्यसमा पूर्वराजपाका सांसद रेशम चौधरी जेलमा छन् भने पूर्वसमाजवादी पार्टीका सांसद हरिनारायण रौनियार भ्रष्टाचारका मुद्दाका कारण निलम्बनमा परेका छन् । दुवै पार्टीमा १६–१६ जना सांसद बाँकी छन् । जसपाले सरकारलाई समर्थन गर्दा प्रधानमन्त्री ओलीसँग बहुमत पुग्छ ।


