तरुण खबर
२७ माघ २०७७, मंगलवार १३:३४
काठमाडौं । दक्षिण अफ्रिकाले कोरोनाभाइरसविरुद्ध अक्सफोर्ड–आस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रम रोकेको छ । एउटा अध्ययनले कोरोना भाइरसको नयाँ प्रकारविरुद्ध सो खोपको नतिजा “निराशाजनक“ देखाएपछि रोकिएको हो । नयाँ अध्ययनको पृष्ठभूमिमा अक्सफोर्ड–आस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रमलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे सरकारले अझ प्रतीक्षा गर्ने बताइन्छ ।
“दुर्भाग्यवश अक्सफोर्ड–आस्ट्राजेनेकाको खोपले हल्का तथा मध्यम खाले बिमारीमा काम नगर्ने रहेछ,“ अध्ययनको नेतृत्व गरेका प्राध्यापक शाबिर माधीले भनेका छन् । वैज्ञानिकहरूका अनुसार दक्षिण अफ्रिकाका नयाँ सङ्क्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकार वा भेरीअन्टबाट प्रभावित रहेको पाइएको छ । दक्षिण अफ्रिकाले अक्सफोर्ड–आस्ट्राजेनेकाको खोपको १० लाख मात्रा प्राप्त गरिसकेको छ । आगामी सातादेखि दक्षिण अफ्रिकाले खोप लगाउने कार्यक्रम बनाएको थियो ।
उक्त अध्ययनले भने अझ गम्भीर सङ्क्रमणलाई अक्सफोर्ड–आस्ट्राजेनेकाको खोपले रोक्ने कुरा कति प्रभावकारी छ भन्न नसकिने बताएका छन् । ५ करोड ९७ लाख ५९ हजार ५०६ जनसंख्या रहेको दक्षिण अफ्रिकामा कोरोना भाइरसका कुल संक्रमित १४ लाख ७६ हजार १३५ छन् । संक्रमितमध्ये ४६ हजार २९० जनाभन्दा बढीको मृत्यु भएको छ । दषिण अफ्रिकाको जनसंख्याको तुलनामा कम संक्रमित छन् अर्थात ६९ हजार ६४१ छन् ।
मोडेर्नाले बनाएको खोप दक्षिण अफ्रिका भेरीअन्टविरुद्ध अझै प्रभावकारी देखिएको प्रारम्भिक नतिजाहरूले देखाएका छन् । आस्ट्राजेनेकाले चाहिँ पहिलो पटक यूकेमा देखिएको यूके भेरीअन्टविरुद्ध आफ्नो खोपेले राम्रो सुरक्षा दिएको जनाएको छ ।


