तरुण खबर
३ बैशाख २०७८, शुक्रबार ११:४०
अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई ओलीको विपक्षमा
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने करीब निश्चित भएको छ । हिजो बिहीबार भएको छलफल थप सकारात्मक रुपमा अघि बढेपछि सरकारमा जाने अनुमान गर्न थालिएको हो । बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भएको कुराकानी र दुई पटक बसेको कार्यदलको बैठक सकारात्मक रुपमा अघि बढेको जसपाका नेताहरुले जानकारी दिएका छन् ।
ओली र ठाकुरबीच कुराकानी भए लगत्तै कार्यदलको बैठक बसेर जसपाको माग सम्बोधनका लागि अहिलेसम्म भएका प्रयासबारे समीक्षा भएको थियो । जसपाका तर्फबाट कार्यदलमा रहेका नेता लक्ष्मणलाल कर्णले नेतृत्व तह र कार्यदलबीच भएको छलफल निक्कै सकारात्मक भएको छ । उनले एक दुई दिनमै निष्कर्ष निस्कने जानकारी दिए । तर जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई ओली नेतृत्वको सरकारमा कुनै हालतमा जान नहुने अडानमा छन् ।
जसपाका ३४ जना सांसदमध्ये दुई जना निलम्बनमा छन् भने ३२ जना संसदमा अहिले पनि क्रियाशिल छन् । ओली नेतृत्वको सरकारमा जानु पर्ने भन्ने पक्षमा करीब १८ जना सांसद भएको बताइन्छ । कम्युनिष्ट पृष्ठभूमिबाट आएका उपेन्द्र यादव र बाबुराम भट्टराई प्रधानमन्त्री ओली विरुद्ध लागेका छन् भने लोकतान्त्रिक पृष्ठभूमिबाट आएका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओली नेतृत्वको सरकारमा सहभागी हुनु पर्ने पक्षमा देखिएका छन् ।
सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि फागुन २८ गते अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक राखेर विभिन्न निर्णय गरेपछि पार्टी विभाजनको रेखा कोरिएको थियो । पूर्व नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल मिलेर प्रधानमन्त्री एवं अध्यक्ष समेत रहेका ओलीलाई पार्टी साधारण सदश्यता समेत नरहने गरी निश्कासन गरेका थिए ।


