नेकपा एमाले विभाजन हुने निश्चित

नेकपा एमाले विभाजन हुने निश्चित तरुण खबर ४ बैशाख २०७८, शनिबार ०९:२८
नेकपा एमाले विभाजन हुने निश्चित

प्रचण्डसँग माधव समूह विलिन हुने आशंका
काठमाडौं । नेकपा एमालेको विभाजन अब निश्चित भएको छ । कर्णाली प्रदेशबाट शुरु भएको संसदमा फ्लोर  क्रस गर्ने प्रबृति अन्य प्रदेशमा पनि लागु हुने भएको छ । माधव नेपाल पक्षले समर्थन फिर्ता लिदा ६ वटा प्रदेशको सरकार परिवर्तन हुन सक्ने बताइन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएर कुनैपनि पार्टी संरचनामा माधवकुमार नेपाल समूहलाई जिम्मेवारी नदिने निर्णय गरे पछि यो समूहले ४–५ चैतमा आफूतर्फका कार्यकर्ताको राष्ट्रिय भेला गरेर समानान्तर गतिविधि शुरु गरेको थियो ।

त्यसैको परिणाम स्वरुप प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापाले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेका हुन् । उनीहरुलाई पार्टीले कारवाही गर्न स्पष्टिकरण सोधेको छ । तर शुक्रबार कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने नेकपा एमालेका प्रदेश सांसदहरुले पार्टीका केन्द्रीय नेताको निर्देशनमा फ्लोर क्रस गरेको बताएपछि द्वन्द्व चर्कने भएको छ । यसपछि एमाले विधिवत फुट्ने निश्चित भएको छ । संसदमा र केन्द्रीय समितिमा नेपाल र झलनाथ खनाल समूहको ४० प्रतिशत नपुग्ने भएकाले पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रसँग मिलेर पार्टीको नयाँ नाम राख्ने तयारी भएको बुझिएको छ ।

शुक्रवार दिउँसो बसेको प्रदेश सभाको सातौँ अधिवेशनले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि नै पार्टी विभाजनको खाका स्पष्ट भएको होे । शाहीको पक्षमा कुल २२ मत परेको थियो । विपक्षमा १५ मत खसेको थियो । मतदानमा ३७ जनाले भाग लिएका थिए । शाहीलाई नेपाली कांग्रेसले पनि साथ दिएको थियो । तर राप्रपा तटस्थ बसेको थियो । माओवादी केन्द्रका सांसद ठम्मर बिष्टले सरकार टिक्ने अवस्था देखिएकाले मुख्यमन्त्रीले विश्वासको मत लिन खोजेको दाबी गरेका थिए । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही संकटमा परेका थिए । उनलाई दिएको समर्थन एमालेले फिर्तापछि मुख्यमन्त्री शाहीले राजीनामा दिने कतिपयको अनुमान थियो ।

एमालेको नेपाल र खनाल पक्षले ’फ्लोर क्रस’ गरेपछि मुख्यमन्त्रीको पद जोगिएको छ । त्यसले नेकपा एमालेको केन्द्रमा रहेको विभाजनको भावी बाटोको पनि सङ्केत गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजङ्ग शाहले “एमाले एकढिक्को छ । उक्त प्रस्ताव असफल हुन्छ भनेका थिए । कर्णाली प्रदेशसभाका ४० मध्ये एक सांसदलाई माओवादी केन्द्रले दल त्यागेको भन्दै सांसदबाट हटाएको थियो । प्रदेशसभामा अहिले एमालेका सभामुखसहित २० जना, माओवादी केन्द्रका १२ जना, कांग्रेसका ६ जना र राप्रपाका एक जना जना गरी ३९ जना सांसद छन् ।

सरकार टिकाइ राख्न मुख्यमन्त्री शाहीलाई २० मत आवश्यक पदथ्र्यो । माओवादी, नेपाली कांग्रेस र राप्रपा एक ठाउँमा उभिँदा पनि १९ मत मात्रै हुन्थ्यो । सरकार जोगाउन एमालेको अनिवार्य साथ वा एमालेकै केही सांसदले फ्लोर क्रस गर्नुपर्ने अवस्था थियो । सर्वोच्च अदालतले हालै नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि गत चैत ४ गते एमालेले मुख्यमन्त्री प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । एमालेको समर्थन फिर्तासँगै माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको थियो ।