एकैपटक ३ संस्थासहित ‘बिग एक्विजेशन’को तयारीमा

एकैपटक ३ संस्थासहित ‘बिग एक्विजेशन’को तयारीमा तरुण खबर ५ बैशाख २०७८, आईतवार १४:५०
एकैपटक ३ संस्थासहित ‘बिग एक्विजेशन’को तयारीमा

काठमाडौं । नविल बैंक मर्जर तथा एक्वायरमा आक्रमकरुपमा प्रस्तुत भएको छ । एकैपटक ३ वटा संस्थालाई एक्विजेशन (प्राप्ति) गर्ने तयारीलाई नबिल बैंकले अन्तिम रुप दिएको छ । नबिल बैंकले ‘क’ वर्गको वाणिज्य बैंक, ‘ख’ वर्गको राष्ट्रियस्तरको विकास बैंक र ‘ग’ वर्गको राष्ट्रियस्तरको फाइनान्स कम्पनीलाई गाभ्ने प्राप्ति गर्न लागेको हो । एक्विजेशन प्रक्रियामा सहभागी भएको विश्वस्त स्रोतले क्लिकमाण्डूलाई दिएको जानकारीअनुसार नबिल बैंकले नेपाल बंगलादेश बैंक, गरिमा विकास बैंक र युनाइटेड फाइनान्सलाई एकैपटक प्राप्ति गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाल बंगलादेश बैंकको मुख्य लगानीकर्ता बंगलादेशको आइएफआईसी बैंकले नबिल बैंकसँग एक्विजेशनमा जानको लागि सैद्दान्तिक सहमति दिएको छ । आइएफआइसी बैंकमा बंगलादेशको सरकारको लगानी छ । यस्तै राष्ट्रियस्तरको विकास बैंक गरिमा विकास बैंकलाई पनि नविलले प्रस्ताव गरेकोे छ । युनाइटेड फाइनान्समा मुख्य लगानी नै चौधरी ग्रुपको हो । जसको कारण नबिलसँग एक्विजेशनमा कुनै समस्या छैन । नबिल बैंकले मर्जरभन्दा पनि आफ्नो रणनीतिमा एक्विजेशनमा प्राथमिकता दिएको छ । पछिल्लो ५ वर्षमा मर्जर तथा आक्रामक शाखा विस्तारले एनआईसी एशिया अगाडि लागेको छ ।

तीनवटा संस्था मर्ज भएपछि नबिल बैंकको निक्षेप ३ खर्ब ४० अर्बभन्दा बढी हुन्छ । कर्जा ३ खर्ब रुपैयाँ भन्दा बढी हुनेछ । यसबाहेक शाखा संख्या करिब ३ सय हुन्छ । मुख्य सहरमा भने नबिल बैंकसहित करिब दुई दर्जन शाखा नजिक रहेको छ । नबिल बैंकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जरको सम्झौता भएपछि नबिललाई थप दबाब हुनेछ । आगामी साता हिमालयन र इन्भेष्टमेन्टबीच मर्जरमा जाने समझदारी गर्दैछन् । नबिलसँग एक्विजेशनमा जाने भनेपछि पछिल्लो समय तीनवटा नै संस्थाको सेयर मूल्य ह्वात्तै बढेको छ । यस्तै गरिमा विकास बैंकको १६० रुपैयाँले बढेर ३६० रुपैयाँ पुगेको छ । युनाइटेडको ८० रुपैयाँले सेयर मूल्य बढेर ४३० रुपैयाँ पुगेको छ ।