तरुण खबर
६ बैशाख २०७८, सोमबार ११:२६
माओवादीले समर्थन फिर्ता लिए अगाडी बढ्न सकिने ः देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नभएको बताएका छन् । उनले अहिलेको राजनीति एकदमै तरल अवस्थामा रहेकाले भोलि जे पनि हुनसक्ने समेत बताए । नयाँ सरकार गठनका लागि माओवादी केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताउँदै पत्रकारहरुसँग भने, ‘सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र अलग भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच द्वन्द्व देखिएको छ । तर, अहिलेसम्म माओवादीले किन समर्थन फिर्ता लिएको छैन ? यसमा मलाई शंका छ । ओली अहिले पनि सुविधाजनक बहुमतमै छन् । अल्पमतमा छैनन् । माओवादीले विश्वासको मत फिर्ता लिएमा कांग्रेस सरकार गठन गर्न अग्रसरता लिन्छ ।’ तर नेकपा (माओवादी केन्द्र) आज सोमबार बस्ने भनिएकोे स्थायी समितिको बैठकले नयाँ सरकार गठन र सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने सम्भावना छ ।
सभापति देउवाले ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ नामक पुस्तक हिजो आइतबार लोकार्पण गर्दै उक्त जानकारी दिएका हुन् । देउवाले नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ आइतबार सार्वजनिक गरेका हुन् । २० वटा जातजातीको संस्कार र संस्कृतिको विषयमा लेखिएको खोजमुलक ग्रन्थबारे साहित्यकार पुष्कर लोहनीले टिप्पणी गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले लेखक श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै नेपाल सांस्कृतिक हिसावले विविधतापूर्ण र सम्पन्न देश भएकाले यहाँ रहेको साँस्कृतिक पक्षको खोज÷अनुसन्धान अझै गरिनुपर्नेमा जोड दिए ।
प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामाले विविधतापूर्ण समाजको विविध संस्कृतिलाई एकैठाउँमा उतार्नु भनेको चानचनुने कुरा नभएको बताउँदै भने– ‘यस्तो महत्वपूर्ण ग्रन्थलाई विश्वविद्यालयको कोर्समै स्थान दिनुपर्छ त्यसको लागि सबै तर्फबाट पहलकदमी आवश्यक छ ।’सभापति देउवाले कार्यक्रममा पुस्तक लेखक श्रेष्ठलाई बधाई दिँदै संस्कृति सम्बन्धी श्रेष्ठको पुस्तक शोधकार्यका लागि महत्वपूर्ण, पठनीय र संग्रहणीय भएको बताए ।
उनले नेपाल विभिन्न जातजातीको फूलबारीको रुपमा रहेको र साँस्कृतिक मिलापले एकतावद्ध रहेको र एक जातिले अर्को जाति र धर्मको सहअस्तित्वलाई स्वीकारेको बताए । पुस्तकमा आठपहरिया राई, कुमाल, गुरुङ्ग, चेपाङ, तामाङ, थारु, दनुवार, दराई, धिमाल, पहरी, बराम, बलामी, मगर, माझी, मेचे, राउटे, राजवंशी, शेर्पा, सतार र हायु जातिका संस्कार र संस्कृतिका विषयमा अनुषन्धान मुलक लेखहरू पुस्तकमा रहेका छन् । ५१२ पृष्ठको उक्त पुस्तकलाई आकृति प्रकृति प्रकाशनले बजारमा ल्याएको हो ।


