निर्माण कम्पनी सुर्य विकास जेभी लहानले सडक ढलानका क्रममा ड्रेन कभर नहाली छाड्दा आवत–जावत गर्ने स्थानीय जोखिममा परेका छन् । आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ लालीका नावालक बोकेका बालिका नालीमा खसेका छन् । नालीमा खस्ला दुधे बालकको टाउँको ठोक्किएको छ । नालीको ढकनी तत्काल राख्न आग्रह गर्दा निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयले बताएका छन् ।
बजार सडक ढलानका क्रममा ठाउँ–ठाउँमा नालीको चार कुने प्वाल बनाइएको छ । नालीको प्वाल ढाक्ने ढकनी नहुँदा बजारमा ओदोहोर–दोहोर गर्ने कतिपय गाडी र बाईक असुरक्षित यात्रा गरिरहेका छन् । मोबाईल चलाउँदै हिँड्ने तथा नालीको ख्याल नगरी हिँड्ने स्थानीय खाल्डोमा खस्ने गरेका छन् । गत १५ मंसिरमा एक वृद्ध, १४ मंसिरमा आमासँगै हिँडिरहेका बच्चा र २६ कात्तिकमा एक विद्यार्थी नालीमा खसेका थिए ।
विशेषगरी सडक किनारामा घर भएका बालबच्चा तथा विद्यालयबाट ओहोर–दोहोर गर्ने विद्यार्थी नालीमा खस्दा चोटपटक लाग्ने गरेको स्थानीय व्यवसायी शरन बिश्वकर्माले बताए ।




