‘हटस्पट’मा तत्काल लकडाउन !

‘हटस्पट’मा तत्काल लकडाउन ! तरुण खबर १२ बैशाख २०७८, आईतवार ११:०४
‘हटस्पट’मा तत्काल लकडाउन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले कोरोना संक्रमण उच्च रहेको ठाउँहरुमा लकडाउन गर्न सुझाव दिएको छ । ठूला सहरहरूमा तत्काल बन्दाबन्दी नगरे अवस्था भयावह हुने सुझाव प्रधानमन्त्री ओलीलाई दिइएको थियो ।

सीसीएमसीको ब्रिफिङमा सुनेपछि प्रधानमन्त्री ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिए ।  उनले सिसिएमसी अधिकारीसँग छलफलका क्रममा प्रधानमन्त्रीले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कोरोनाको बढ्दो जोखिमबारे छलफल गर्न सरोकारवाला पक्षहरुसँग हिजो साँझ छलफल गरेका थिए । छलफलमा सीसीएमसीका निर्देशक समितिमा आवद्ध उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ८ मन्त्री, १२ जना सचिव, सुरक्षा अंगका प्रमुखहरु र अन्य केही कर्मचारीको संलग्नतामा थियो ।

बैठकमा सरकारले बैशाख ६ गते जारी गरेको आदेश कतैबाट पनि पालना नभएकोबारे चर्चा भएको थियो । सरकारी आदेश र निर्णयको कार्यान्वयन नहुँदा जोखिम बढ्ने भन्दै विभिन्न विकल्पहरुका बारेमा छलफल भएको थियो ।

यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने र कार्यालयमा आधा कर्मचारी मात्र राख्ने प्रावधानमा जानुपर्ने हुनसक्ने सरकारी कर्मचारीहरुले बैठकमा प्रधानमन्त्री समक्ष सुझाव राखेका छन् ।  सीसीएमसीका सदस्यले प्रधानमन्त्री ओलीलाई कोरोनाका ‘हटस्पट’हरूमा नेपालगन्जमा जस्तै कडाइ गर्नुपर्ने सुझाव दिएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लकडाउन नभनिए पनि निषेधाज्ञा जारी गरिएको छ। नेपालगन्ज सहरमा मात्र ७ सय ३५ सक्रिय संक्रमित भएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा त्यहाँ बाँके जिल्ला प्रशासन कार्यालयले गत बुधबार राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) सहित पर्सा, कास्की, दाङ, बाँके र रूपन्देहीमा संक्रिय संक्रमितको संख्या ५ सय नाघिसकेको छ ।