तरुण खबर
१४ बैशाख २०७८, मंगलवार ११:३६
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७८ बैशाख १५ गते बुधबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ भनी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिएका छन् । यसअघि नेपाली कांग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको छ ।
बुधबार बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकमा सहभागी हुने सबै नेताहरुको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको हो । यसअघि सोमबार बैठक बस्ने भनिएको थियो । तर कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै परीक्षण गरेर मात्रै बैठक बस्ने भनिएपछि आजको बैठक स्थगित गरिएको थियो । पीसीआर परीक्षण नेगेटिभ आएका नेताहरु मात्रै बैठकमा सहभागी हुने कांग्रेसले बताएको छ । यो बैठकमा समसामयिक विषय, सत्ता समिकरण, राष्ट्रियसभाको निर्वाचन लगायतका विषयमा छलफल केन्द्रत हुनेछ ।


