तरुण खबर
१९ बैशाख २०७८, आईतवार १२:०८
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण शनिबार रातीदेखि नै वागमती प्रदेशका अधिकांश जिल्लामा पानी परेको छ । त्यस्तै, पूर्वी नेपालको १ नं प्रदेशमा मौसम बदली भएको छ । मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहार र बंगालमा विकास भएको निम्न चापीय क्षेत्रका कारण प्रदेश नं १ र २ मा मंगलबारसम्म मौसम बदली रही बेलाबेलामा वर्षा समेत हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार काठमाडौं उपत्यकामा अहिले देखिएको प्रि–मनसुनको अवस्था मंगलबारसम्म लम्बिने अनुमान गरिएको छ ।
देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहने विभागले जनाएको छ । वागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागका केही स्थानमा मंगलबारसम्म नै साँझपख मेघगर्जन÷चट्याङ्ग÷हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । आइतबार बिहानको भारी वर्षा ९ बजेसम्ममा रोकिने र दिउँसो र साँझ फेरि सामान्य बदली भई देशका पहाडी भूभाग वर्षा हुने छ । प्रदेश नं १ को सबै जिल्लामा हावाहुरी सहित सामान्य वर्षा हुने सम्भावना रहेको श्रेष्ठले जानकारी दिए ।


