तरुण खबर
२० बैशाख २०७८, सोमबार १३:४२
थोरै जनसंख्या भएको देशमा ३ लाख ३६ हजारभन्दा बढी संक्रमित
काठमाडौं । सरकारले नेपालमा आज सोमबार मध्यरातदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै, वैशाख २२ गतेबाट अन्तर्राष्ट्रिय उडान पनि बन्द गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । भारतको उडानलाई केही समयका लागि मात्र स्थगन गर्ने भनिएको छ । ब्रजिल र दक्षिण अफ्रिकाको (उडान) लाई बन्द भनिएको छ । कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्नका लागि अस्पतालको क्षमता बढाउने सन्दर्भमा केही अस्पताललाई सूचीकृत गरेर कार्ययोजना तयार पारिएको र अक्सिजन सिलिन्डर खरिद गर्ने विषयमा चीनबाट ल्याउने भनिएका २० हजार सिलिन्डर द्रुत गतिबाट ल्याउने निर्णय गरिएको एक मन्त्रीले बताए ।
कुल २ करोड ९५ लाख ६९ हजार २८१ जनसंख्या रहेको मुलुकमा ३ लाख ३६ हजार ३० जना कोरोना भाइरसका संक्रमित छन् । संक्रमितमध्ये २ लाख ८३ हजार ९९४ जनालाई निको भैसकेको छ । नेपालमा सक्रिय संक्रमितको कुल संख्या ४८ हजार ७११ पुगिसकेका छन् । तीव्र गतिमा बढ्न थालेपछि राजधानीसहित नेपालका केही जिल्लामा अहिले निषेधाज्ञा जारी गरिएको छ । नेपालमा बैशाख १९ गते आइतबार थप ७ हजार २११ कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा गत वर्ष कोरोनाभाइरस महामारी सुरु भएपछि अहिले पुष्टि भएको सङ्क्रमितको सङ्ख्या सर्वाधिक हो ।


