तरुण खबर
२८ बैशाख २०७८, मंगलवार ११:५८
कश्यप शर्मा
बीपी राजमार्ग हुँदै धुलखेलबाट खुर्कोट जाँदै गर्दा मंगलटार कटेपछि करिब चार किलोमिटर पर एउटा फराकिलो फाँट देखिन्छ । जसलाई माम्ती फाँट भनिन्छ । यो फाँटबाट तिमाल जोड्न केही समयअघि रोशी नदीमाथि पक्की पुल निर्माण सम्पन्न भएको छ । पक्की पुल नजिकैको सानो बजारमा विशाल पीपलको रुख छ । पीपलको रुखैमुनि भीमसेनको प्रख्यात मन्दिर छ । जसलाई माम्ती भीमसेन भनिन्छ । यही मन्दिरको नामबाट यस फाँटको नामाकरण गरिएको किंवदन्ती छ । आफ्नो मनोकामना सिद्धि हुने विश्वासका साथ माम्ती भीमसेनप्रति यस भेगमा धेरै ठूलो आस्था छ । खासगरी काठमाडौं उपत्यकाका नेवार समुदायमा जीवनमा एकपटक दोलखा भीमसेन र माम्ती भीमसेनको दर्शन गर्नैपर्ने मान्यता छ । दोलखा भीमसेन र माम्ती भीमसेनको उत्पत्ति सँगै भएको जनविश्वास रहे पनि कहिले उत्पत्ति भएको हो ? पूजाआजा कहिले सुरु भएको हो ? भन्ने अभिलेख पाइँदैन ।
भिँ द्यः अर्थात् असल देवता, नेवारहरूले मल्लकालदेखि मान्दै आएको देवताको नाम हो । तर यस क्षेत्रमा नेवार जातिको पुरानो बस्ती पाइँदैन । तैपनि यति प्रख्यात भीमसेन मन्दिर कसरी यहाँ बन्यो ? भन्ने सन्दर्भमा एक किंवदन्ती छ । मल्लकालमा भक्तपुरकी राजकन्यासँग दोलखाका राजकुमारको बिहे भएछ । भक्तपुरका राजाले छोरीका साथ एक मोटाघाटा बलिया ज्यापूलाई पनि सेवकको रूपमा पठाएका थिए । असारको बेला रहेछ । रोशीमा ठूलो बाढी आएकाले उनीहरू वारि माप्ती टारमै बास बसेछन् । तल नदीमा पानीको बाढी आए पनि सुख्खा माम्ती टारमा भने पानीको अभावमा रोपाइँ भइरहेको थिएन । आकाशको पानी पर्खिरहेका थिए । भक्तपुरे ती ज्यापूले वायुदेवताको आरधाना गरी पानी बर्साइदिए ।
तत्काल मान्तीका फाँटमा ठूल्ठूला मुलहरू फुटे । स्थानीय किसानलाई ती ज्यापूले भीमसेनको मन्दिर बनाएर पूजा गर्नु, तिमीहरूलाई कहिल्यै पानीको संकट पर्ने छैन भनेर त्यहाँबाट दोलखातर्फ प्रस्थान गरे । उता, दोलखामा पनि पानीको त्यस्तै समस्या थियो । तिनै ज्यापूले भीमसेनको आरधाना गरी पानीको व्यवस्था गराइदिए । दोलखामा पनि नियमित भीमसेन पूजाको परम्परा बस्यो । कसैकसैले भीमसेनलाई वायुदेवताका पुत्र भन्छन् भने कसैले असल देवता मात्रै भन्छन् । तर नेवार समुदायले मान्ने देवता भन्ने कुरामा चाहिँ विवाद छैन । जहाँ नेवारको बसोवास छ, त्यहाँ भीमसेन मन्दिर अवश्य पनि हुन्छ भनिन्छ । नेपालमा भीमसेनको पूजा कहिलेबाट सुरू भयो एकिनसाथ भन्न सकिन्न, तर मध्यकालीन नेपालमा व्यापारीका माझ यी भीमसेन अत्यन्त लोकप्रिय भएको विभिन्न किंवदन्ती तथा ऐतिहासिक स्रोतले स्पष्ट पार्दछन् ।
भीमसेन व्यापारीका लोकप्रिय देउता भएको कुरामा दुईमत छैन । भीमसेनका लागि प्रयुक्त वाणिज्यकदेव, मार्गदेव, मार्गविघ्नहरूजस्ता शब्दले पनि भीमसेनको व्यापारसम्बन्धी स्वरूपलाई प्रस्ट्याइएको हुन्छ भने प्रमुख व्यापारिक मार्गमा भीमसेनका थान र मन्दिर रहनुले पनि यसको महत्वलाई बुझाउँछ । मान्ती भीमसेन, दोलखा भीमसेनस्थान, धरानको क्षेत्रपाल भीमसेन तथा मकवानपुरको भीमफेदी आदि यस्ता व्यापारमार्गमा पर्ने भीमसेनका मन्दिर हुन् । प्राचीनकालमा विभिन्न जंगली जनावरबाट बच्दै साँघुरो पहराको बाटो हुँदै खोला र नदी तर्दै महिनांै लाग्ने व्यापारका लागि निस्कँदा त्यस्ता विघ्नबाधाबाट बच्न बहादुर एवं दसहात्ती बराबर बल भएका भीमसेनको उपासना गरी आह्वान गरिनु यहाँको भूगोलअनुसार पनि अर्थपूर्ण लाग्दछ ।
जहाँसम्म नेपालमा भीमसेनको मूर्ति स्थापना गरी पूजा गर्ने परम्परा छ, सो भने ई.को बाह्रौ शताब्दीदेखि मात्र सुरू भएको देखिन्छ । तर पशुपतिनाथ मन्दिरको दक्षिणपट्टिको छानो थाम्न प्रयुक्त टुँडालमा द्रौपदीका साथ पञ्च पाण्डवको रूपमा भीमसेनले स्थान पाउनु पनि यहाँ विचारणीय छ । यदि यो मन्दिरको कला तथा वास्तुकला प्राचीन शैलीकै निरन्तरता हो भने भीमसेनको मूर्ति बनाइने परम्परा नेपालमा प्राचीन मान्नुपर्ने हुन्छ । भाषा वंशावली भाग दुई तथा देवमाला वंशावलीमा पनि उपत्यकामा भीमसेन स्थापनाको प्रसंग परेको छ, जसअनुसार ने.सं. २६० मा यहाँ पहिलोपटक भीमसेनको स्वतन्त्र मूर्ति स्थापना गरी पूजा गर्न सुरू गरेको बुझिन्छ, तर पनि भीमसेनसम्बन्धी अभिलेख प्रमाण भने ने.सं. ६६० तिरदेखि मात्र पाइन्छ ।
जेहोस् मध्यकालतिर आएर भीमसेनका थुप्रै मन्दिर बने । तिनमा कतिपयमा ठूला र विभिन्न आकारप्रकारका ढुंगालाई भीमसेन देवता मानियो भने कतिपय ठाउँमा बलिष्ठ भीमसेनका दुई बाहु वा चार बाहु भएका प्रस्तर, धातु या काष्ठका मूर्ति स्थापना गरी पूजा उपासना गर्ने गरिएको पाइन्छ । हुन त भीमसेनको प्रतिमा बनाउँदा भयानक, डरलाग्दो, रक्त वर्ण भएको स्वेतवस्त्रधारी, जटाकुमुट युक्त, चार बाहु भएको जसमा दुई बाहुमा शुल र पास तथा अर्को दुई हातमध्ये एक वरद मुद्रामा र अर्को अभय मुद्रामा देखाउनु पर्दछ भन्ने उल्लेख छ । खासगरी नेवार समुदाय प्राचीनकालदेखि नै व्यापारमा बढी संलग्न रहने गरेको हुँदा विभिन्न नेवार बस्तीमै ज्यादा भीमसेनका मन्दिर तथा मूर्ति रहेको पाइन्छ । मान्ती भीमसेन मन्दिरका सन्दर्भमा भन्नु पर्दा यसको प्रख्याती जति छ त्योअनुसारको संरक्षण, सम्बद्र्धन तथा व्यवस्थापन भएको देखिँदैन । मन्दिरले चर्चेको जग्गासमेत अतिक्रमणमा परेको छ ।
(वडा अध्यक्ष मिलन लामाको सहयोगमा तयार गरिएको हो)


