बेथाञ्चोक डायरी–२

बेथाञ्चोक डायरी–२ तरुण खबर २९ बैशाख २०७८, बुधबार १४:१२
बेथाञ्चोक डायरी–२

मछिन्द्रकुमार लामा

अघिल्लो बुधबार बेथाञ्चोक डायरीमा मैले चलाल गणेशस्थानको तिलेश्वर महदेव मन्दिर र धार्मिक महत्वबारे उल्लेख गरेको थिएँ । आज फेरी कपुर महांकल मन्दिर, अंग्रेजसँग गोरखाली सेनाको युद्धका बारेमा उल्लेख गर्ने जमर्को गर्ने छु ।

आफू जन्मे–हुर्केको ठाउँ भएकाले हुनसक्छ, काभ्रे बेथाञ्चोक–२ ढुंखर्क स्वर्गबाट झरेको एक टुक्रा भन्दा कहाँ कम थियो र ? वरिपरि डाँडा र जंगल, सानो उपत्यकाको दृष्यले कसको मन नलोभ्याउँला र ? उसबेला दुई वटा पसल थिए, अहिले बजार बनिसकेको छ । डेढ दुई सय वटा त नयाँ घर नै बनिसकेका छन् । यात्राको दोस्रो दिन एका बिहानै बेथाञ्चोक–३ मा पर्ने नारायणथान पुग्दा ६.३० बजेको थियो । माघ महिना भएकाले होला हेटौडा बजारमा झलमल्ल विजुली बत्ति बलेको नाङ्गो आँखाले देखिएको थियो । उहिले उहिले विहारमा रेल दौडेको सजिलै देखिन्थ्यो रे, अहिले त वायु प्रदुषणले होला रेल दौडेको देखिदैन । काठमाडौंको चन्द्रगिरि, पूmचोकी नारायणथानका अगाडी फुच्चे देखिएका थिए । हुन पनि समुन्द्र सतहबाट नारायणथानको उचाइ ३,०१८ मिटर छ भने चन्द्रगिरिको उचाइ २,५५१ मिटरमात्र छ । त्यस्तै फुलचोकी डाँडाको उचाइ २,५१५ मिटर रहेको छ ।

नारायणथानबाट पश्चिमतर्फ रहेको नमनडाँडा, पाण्डवडाँडा र दक्षिणतर्फ हेर्दा प्रदेश २ का अधिकांश जिल्ला हेर्न सकिने बेथाञ्चोकको नारायणथान प्राकृतिक रुपमा बरदान हो, बेथाञ्चोकको पूँजी हो । उदाहरणका लागि काभ्रे, बेथाञ्चोक–३ को ३ हजार १८ मिटर उचाइको बेथञ्चोक नारायण, ३ हजार १२ मिटर उचाइको गजराज थुम्को, नारायणथानबाट नजिकै रहेको २ हजार ३ सय ११ मिटर उचाइको चौवास डाँडालगायत अनगिन्ती डाँडाहरुको सुन्दरता नै नेपालको सुन्दरता हो ।

सिन्धुलीगढी र हरिहरपुरगढीमा वि.सं १८२४ मा नेपाललाई उपनिवेश बनाउन आएका ब्रिटिसहरूसँग भएको युद्धमा गोर्खाली फौजहरूले विजय प्राप्त गरेको ताका च्यासिङखर्कको कामीडाँडामा युद्ध भएको अनुमान मात्र गर्न सकिन्छ ।

पूर्वदेखि पश्चिम तेर्सिएको महाभारत पर्वत श्रृंखला भूबनोटको हिसावले कलिलै भन्न सकिन्छ । महाभारतको घना जंगल नेपालको आम्दानीको प्रमुख स्रोतहरु मध्येमै पर्छ । सम्मानित पत्रकार परशु घिमिरे दाइले नारायणथानको बारे २०७७ सालको भदौमा सविस्तार चर्चा गर्नु भएको थियो । नाराणथानबाट फर्केकै दिन हामी च्यासिंङखर्कको कामीडाँडा पुगेका थियौं । वडा अध्यक्ष खजाञ्ची लामासँग भेटघाट गरेपछि उहाँकै सहयोगमा हामीले वडा सदश्य सुकु तामाङ र ८५ वर्षिय अक्कलबहादुर तामाङसँग भेट गर्ने मौका पाएका थियौं । मान्छेले धेरै पढ्लेख गर्नु पर्दैन भन्ने कुराको राम्रो उदाहरण हुन् अक्कलबहादुर तमाङ । इच्छाशक्ति र आँट भएपछि जे पनि गर्न सकिन्छ भन्ने उदाहरण पनि हुन् उनी । झण्डै दुई घण्टा घुमाए, डुलाए र आफैले पैसा तिरेर चिया र खाजा खुवाएर उनले हामीलाई विदा दिए । अक्कलबहादुर तामाङका अनुसार घ्यागर वाङ त्यो ठाउँको नाम अर्थात विदेश (फौज) लाई खाल्डोमा पुरिएको ठाउँ हो ।

सिन्धुलीगढी र हरिहरपुरगढीमा वि.सं १८२४ मा नेपाललाई उपनिवेश बनाउन आएका ब्रिटिसहरूसँग भएको युद्धमा गोर्खाली फौजहरूले विजय प्राप्त गरेको ताका च्यासिङखर्कको कामीडाँडामा युद्ध भएको अनुमान मात्र गर्न सकिन्छ । त्यतिबेला सिन्धुलीगढीमा गोरखालीहरूको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, बंशराज पाण्डे र बंशु गुरुङहरुले विसं १८२४ असोजमा बेलायती फौजका क्याप्टेन किन्लकको नेतृत्वको फौजलाई हराएयता वि.सं. २०२० सालसम्म संरक्षणमै रहेको सिन्धुलीगढी पछि भग्नावशेषमा परिणत भएको हो ।

तर च्यासिङखर्कको कामीडाँडामा गोरखाली फौज र ब्रिटिस फौजको नेतृत्व क–कसले गरेका थिए, खोज तथा अनुसन्धान गर्न बाँकी नै छ । ८५ वर्षिय अक्कलबहादुर तामाङका अनुसार गोरखाली फौजका कमाण्डरलाई सपनामा महादेव आएर भनेछन्– विदेशी फौजले उत्तर फर्केर युद्ध लड्दा अध्यारो (अन्धकार) देख्छन्, दक्षिणतिर फर्कदा उज्यालो देख्छन्, त्यसैले तिमीहरुले बन्दोवस्तिका सामाग्री सहित युद्ध लड्नु, युद्धमा तिमीहरुकै जीत हुन्छ भनी महादेव अलप भएछन् । गोरखाली सेनाले युद्ध पनि जितेछन्, युद्ध जीतेको खुशीयालीमा त्यसबेलादेखि नै कपुर महांकलको पूजाआजा गर्न थलिएको हो तामाङले भन्नु भयो ।

कामीडाँडाबाट करीब १ किलोमिटरमाथि डाँडामा महादेवको मन्दिर बनाइएको छ । २०५१ सालमा उनै ८५ वर्षिय अक्कलबहादुर तामाङको पहलमा मन्दिर बनाइएको हो । त्यही डाँडाको चुचुरोमा तामाको दुई फिट अग्लो पिल्लर गाडिएको, सुरक्षाका लागि डाँडाको वरिपरि खाल्डो खनिएको अहिले पनि सजिलै देख्न सकिन्छ ।

च्यासिङखर्कको कामीडाँडामा गोरखाली फौज र ब्रिटिस फौजको नेतृत्व क–कसले गरेका थिए, खोज तथा अनुसन्धान गर्न बाँकी नै छ । ८५ वर्षिय अक्कलबहादुर तामाङका अनुसार गोरखाली फौजका कमाण्डरलाई सपनामा महादेव आएर भनेछन्– विदेशी फौजले उत्तर फर्केर युद्ध लड्दा अध्यारो (अन्धकार) देख्छन्, दक्षिणतिर फर्कदा उज्यालो देख्छन्, त्यसैले तिमीहरुले बन्दोवस्तिका सामाग्री सहित लड्नु, युद्धमा तिमीहरुकै जीत हुन्छ भनी महादेव अलप भएछन् ।

क्याप्टेन किन्लककै नेतृत्वको अंग्रेज सेनाले काठमाडौं प्रवेश गर्ने छोटो दुरीको हरिहरपुरगढी नाका हुँदै अघि बढेपनि त्यहाँ तैनाथ जंगबहादुर राणाका हजुर बुवा रामकृष्ण कुवँरको नेतृत्वले अघि बढ्न नदिएपछि अंग्रेज सेना हरिहरपुरगढीबाट १८२४ मा रौतहट जिल्ला फर्किएको ऐतिहासिक दस्तावेजहरूमा उल्लेख छ, एकाएक अंग्रेजी फौज आप्नो भूमितिर धनमाना खोल्साबाट उकालो लागेको देखेर स्थानीय थापा मगर, गोदार थापा, बगाले थापाहरुले पहाडबाट ढुंगामुढा वर्षाई रुख हल्लाई अरिङ्गलको गोला खन्याई लखेटेका थिए ।

उनीहरुबाट खोसिएको दुई वटा तोपहरु सिन्धुलीगढीमा धेरै वर्ष रहेपछि २०३० सालमा काठमाडौ लगिएको हो । स्थानियको वीरताको गाथा सुनेका पृथ्वीनारायण शाहले उनीहरुलाई जग्गा बिर्ता दिएका थिए । सन् १८१४ देखि १६ सम्मको नेपाल–अंग्रेज युद्धको इतिहास खोज तथा अनुसन्धान गरी पुनर्लेखन गर्नु पर्ने आबश्यकता सबै नेपालीले महशुस गरेको विषय हो । किन भने बेथाञ्चोक गाउँपालिकाको च्यासिङखर्कको कपर महांकल गढीमा अंग्रेज फौजसँग गोरखाली फौजले लडेको थियो । स्थानियको जनश्रुती अनुसार गोरखाली फौजले अंग्रेज फौजका पाँच सय जनाभन्दा बढीको लास कपुर महांकल डाँडामाथिबाट खसालेको बताएका छन् । कपुर भन्ज्याङबाट करीब एक घण्टामा गोरखाली गाउँ पुगिन्छ । त्यहाँ बाक्लै बस्ती छ ।

गोरखाली फौज केही दिन बास बसेकाले ठाउँको नाम नै गोरखाली गाउँ रहन गएको बताइन्छ । गोरखाली गाउँ नामाकरण कसरी रहन गयो, केका आधारमा र किन भयो ? अनुमान गर्न सकिने भए पनि खोज तथा अनुसन्धानको अभाव रहेको अनुभव गर्न सकिन्छ । यसर्थ नेपाली सैन्य इतिहासमा इतिहास र भूगोलका कतिपय सन्दर्भ पनि मिलेका छैन भन्न सकिन्छ । खोज्दै जाँदा कतिपय युद्धस्थल अर्कै ठाउँमा भेटिन्छन्, हुन पनि उसबेला यतायातको साधन थिएन, अहिले जस्तो सञ्चार उपकरणको विकास भएकै थिएन ।

उदाहरणका लागि, सन् १७६७ मा सिन्धुलीमा अंग्रेज फौजका कप्तान किन्लक विरुद्धको लडाइँबारे युद्ध इतिहासमा सिन्धुलीमाडीदेखि उत्तरतर्फ लाग्दा पहिला सिन्धुलीगढी, त्यसपछि खुर्कोट र त्यस नजिकै पौवा गढी रहेको उल्लेख छ । विदेशी लेखकहरूका विवरण सारिदा यस्तो त्रुटि भएको हो । खासमा सिन्धुलीमाडीबाट पहिला पौवा गढी, त्यसपछि सिन्धुलीगढी र खुर्कोट आउँछ । क्रमशः