तरुण खबर
१३ पुष २०७९, बुधबार १०:५०
मुम्बई । बलिउड अभिनेता सलमान खानले मँगलबार आफ्नो ५७ औं जन्मदिन मनाएका छन् । यस अवसरमा सलमानलाई बलिउडकर्मीदेखि शुभचिन्तकसम्मले मँगलबार जन्मदिनको शुभकामना दिएका छन् ।
सलमान खानको जन्मदिनको अवसरमा उनको लागि बान्द्रामा विशेष पार्टी आयोजना गर्दै जन्म दिन भव्यसँग मनाएका छन् । जसमा बलिउडका थुप्रै स्टार कलाकारहरू पुगे । सो पार्टी आयोजना गर्नु अघि सलमान खानले पहिलो पटक पापाराजीसँग जन्मदिनको केक काटे । सलमान खानको जन्म दिन र केक काटेको दृष्यलाई आफ्नो क्यामेरामा उतार्न पाउँदा पापाराजीहरु पनि निकै खुसी भए ।
यसैबीच, सलमानलाई उनको जन्मदिनको अबसरमा बलिउडका कलाकारले भेटेर तथा ट्विट गरेर जन्म दिनको शुभकामना प्रदान गरेका छन् । सलमानको पहिलो फिल्म मैने प्यार कियाकी नायिका भाग्यश्रीले सलमानलाई जन्म दिनको विशेष शुभकामना दिएकी छिन् । उनले विवाहको लागि सलमानलाई लामो समयदेखि आग्रह पनि गर्दै आएकी छिन् ।
सलमान खानका मिल्ने साथी अर्का शाहरुख खानले त जन्मदिनको पार्टीमै पुगेर सलमानलाई शुभकामना दिएका छन् । आफुहरुले एक अर्कालाई सघाएर अघि बढ्ने शाहरुखले बताएका छन् । यति मात्र होइन, सलमान खान आफैं पनि जन्म दिन कार्यक्रममा आएका शाहरुख खानलाई उनको कारसम्म पुगेर बिदाई गरेका छन् ।
यस्तै बलिउड अभिनेता अजय देवगनदेखि कट्रिना कैफ र रितेश देशमुखलगायतका धेरै स्टारले उनलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् ।
अजय देवगनले सलमानको बिग बोसको सेटको तस्विर सेयर गर्दै लेखेका छन्,‘जन्मदिनको शुभकामना सलमान खान। म सधैं तिम्रो सफलताको लागि प्रार्थना गर्छु साथी, छिट्टै भेटौंला ।’
कट्रिना कैफले पनि सलमान खानको टाइगर ३ को तस्बिर सेयर गर्दै शुभकामना स्वरुप यस्तो लेखेकी छिन्,‘टाइगरको जन्मदिनको शुभकामना ।’
अभिनेता रितेश देशमुखले पनि सलमानको सफलताको कामना गर्दै जन्म दिनको शुभकामना दिएका छन् । अरु थुप्रै कलाकारले सलमानलाई जन्म दिनको शुभकामना दिएका छन् । सलमानले पनि आफुले अझ राम्रो र फरक काम गर्ने प्रतिवद्धता यसपटकको जन्म दिनमा जाहेर गरेका छन् ।


