बैंकर संघद्वारा ग्राहकलाई बैंक नधाउन आग्रह

बैंकर संघद्वारा ग्राहकलाई बैंक नधाउन आग्रह तरुण खबर ३ जेष्ठ २०७८, सोमबार १०:३०
बैंकर संघद्वारा ग्राहकलाई बैंक नधाउन आग्रह

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले ग्राहकलाई सकेसम्म बैंक नआउन आग्रह गरेको छ । यसअघि नै अत्यावश्यक पाँच वटा मात्रै सेवा दिने बताइसकेको संघले आइतबार फेरि प्रेस विज्ञप्ति जारी गर्दै सकेसम्म बैंक नआउन आग्रह गरेको हो ।

‘कोभिड–१९ को दोस्रो लहर बढेसँगै समस्त ग्राहकवर्गहरुमा बैंकिङ्ग कारोवार घरैबाट गर्नका निमित्त अनुरोध गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।   ‘मोबाइल तथा इन्टरनेट बैंकिङ्गमार्फत एक खाताबाट अर्कोमा रकम स्थानान्तरण, खाता व्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीहरु लगायतका कार्यहरु गर्न सकिने व्यहोरा स्मरण गराउँदछौं । ’ साथै, सामान खरिद गर्दाका वखत समेत उपलब्ध भएसम्म कार्डको प्रयोग तथा क्यूआर कोडमार्फत भुक्तानी गरी सकेसम्म नगद कारोवार कम गर्न संघको अनुरोध छ ।

ग्राहकहरुको सहजताको निमित्त यस निषेधाज्ञा अवधिभर मुद्दती खाता नविकरणसमेत सम्बन्धित बैंकलाई इमेलमार्फत अनुरोध गर्न सकिने संघले जनाएको छ । साथै, कुनै परिस्थितिवस इमेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको ७ दिन पछिसम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागू हुने गरि नविकरण गर्न सकिनेछ । बैंकिङ्ग कारोवार वा बैंकसँग सम्बन्धित अन्य कुनै सेवा, सुझाब, गुनासो भएको खण्डमा बैंकको वेवसाइडमा सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएको तथा कल सेन्टर सेवा समेत उपलब्ध भएको संघले जनाएको छ ।