तरुण खबर
३ जेष्ठ २०७८, सोमबार १०:३२
आईपीओ निष्काशनको तयारीमा रहेका महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७१ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ९९ दशमलब ५१ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले २९ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । इन्स्योरेन्सले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ७ करोड १८ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी १ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले यस अवधिमा खुद नाफा पनि १.५० प्रतिशतले बढेर ६ करोड ६८ लाख रुपैयाँ पुगेको छ । यो नाफा बीमाङ्कीय मूल्याङ्कन अघिको हो। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी थालेको छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको जगेडा कोषमा १६ करोड ८ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब ३३ करोड ६० लाख रुपैयाँ र महाविपत्ती कोषमा १ करोड ७८ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा इन्स्योरेन्सले कुल २३ हजार ३१९ वटा बीमालेख जारी गरी ७९ करोड ४९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । चैत मसान्ससम्ममा कम्पनीले ७ वटा दाबी वापत २ करोड ९२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ८ लाख ७० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।


