तरुण खबर
५ जेष्ठ २०७८, बुधबार ११:०३
चेतनाको विशुद्ध अवस्था ध्यान हो, जहाँ कुनै विचार हुँदैन, कुनै विषय रहदैन । साधारणतया हाम्रो चेतना विचार, विषय, कामनाहरुले भरिएका हुन्छन् । दर्पणलाई धुलोले छोपेझै । हाम्रो मन एउटा सतत प्रवाह हो– विचार चलिरहेका छन् । कामनाहरु चलिरहेका छन्, पुराना स्मृतिहरु हट्दैछन् । रातदिन अनवरत यही सिलसिला छ । यो अ–ध्यानको अवस्था हुन्छ, ठीक उल्टो । जब कुनै विचार चल्दैन भने र हामी परिपूर्ण मौनमा हुनेछौ– त्यो परिपूर्ण मौन ध्यान हो । त्यही परिपूर्ण मौनमा सत्यको साक्षात्कार हुनेछ । जब मन नै छैन भने, जे त्यहाँ हुन्छ, त्यो ध्यान हो ।
त्यसैले मनको माध्यमबाट कहिल्यै पनि ध्यानसम्म पुग्न सकिदैन । म मन होइन, ध्यान यसैको बोध हो । जति–जति हाम्रो बोध गहिरो–गहिरो हुँदैजान्छ, केही झलकहरु पाउन शुरु हुन्छ– मौनको शानितको जब सबै रोकिन्छ र मनमा केही पनि रहदैन । त्यो मौन, शान्त क्षणमा नै हामीले स्वयम्को सत्ताको अनुभूति गर्छौं । र, यो अस्तित्वको रहस्यको स्पर्श गर्छौं । बिस्तारै–बिस्तारै त्यो दिन पनि आउँछ, एउटा सौभाग्यको दीन आउँछ, अनि ध्यान हाम्रो सहज अवस्था हुन थाल्छ । मन असहज अवस्था हो ।
यो मन हाम्रो सहज–स्वभाविक अवस्था कहिल्यै पनि बन्न सक्तैन । ध्यान हाम्रो सहज अवस्था हो, तर हामीले त्यो गुमाएका छौं । त्यो स्वर्ग फेरी पाउन सकिन्छ । कुनै बच्चाको आँखामा हेर्नू– त्यहाँ तपाईले अद्भूत मौन देख्नु हुनेछ, अद्भूत निर्दोषता देखापर्छ । प्रत्यक बच्चा ध्यानका लागि नै जन्मेको हो । तर उसले समाजको रङ्ग–ढंग पनि सिक्नु पर्छ । विचार गर्ने, तर्क गर्ने, हिसाब–किताब गर्ने सबै कुरा सिक्नुपर्छ । शब्द, भाषा र व्याकरण सिक्नुपर्छ । र, बिस्तारै ऊ आप्mनो निर्दोषता, सरलताबाट टाढा–टाढा हुँदै जान्छन् । उसको कोरा, रित्तो स्लेट समाजको लिखतले फोहर भएको छ ।
ऊ समाजको ढाँचामा एउटा कुशल यन्त्र बन्छ– एउटा जीवन्त, सहज मनुष्य होइन । त्यो निर्दोष सहजतालाई फेरि प्राप्त गर्नु अनिवार्य छ । त्यसलाई हामीले चिन्यौ । त्यसैले ध्यानको पहिलो झलक पाउँदा हामी आश्चर्यमा पर्छौं र भन्छौं, मलाई त यो पहिले नै थाहा छ । र, त्यो प्रत्यभिज्ञा बिलकुल सत्य छ– हामीलाई पहिले नै थाहा रहेछ । तर हामीले बिर्सेका रहेछौं । हीरा फोहर–मैलामा पुरिएर बसेको रहेछ । हामीले अलिकति मात्र फोहर पन्छायौं भने हीरा हाम्रो हातमा पर्छ– त्यो हाम्रो स्वभाव हो ।
त्यसलाई हामी गुमाउन सक्दैनौ, तर बिर्सन्छौं । हामी ध्यानमा नै उत्पन्न हुन्छौ । फेरि हामी मनको रङ्ग–ढङ्ग सिक्छौं । तर हाम्रो वास्तविक स्वभाव अन्तर्धाराजस्तै भित्र गहिरो–गहिरो बनिरहेको छ । कुनै पनि दिन, अलिकति खनेर, हामीले आपूmमा त्यो धारा अहिले पनि बगिरहेको पाउँछौं, जीवन–श्रोतको झर्नाले अहिले पनि ताजा जल ल्याइरहेको छ । त्यो पाउनु जीवनको सबैभन्दा ठूलो आनन्द हो ।
(मधुवन प्रकाशनद्वारा प्रकाशित ओशो ध्यान विज्ञानबाट, जसको अनुवाद उद्धव उपाध्यायले गर्नु भएको हो ।


