तामाङ र ह्योल्मोले मनाउने सोनाम लोसार किन मनाइन्छ ?

तामाङ र ह्योल्मोले मनाउने सोनाम लोसार किन मनाइन्छ ? तरुण खबर २८ माघ २०७७, बुधबार १५:५७
तामाङ र ह्योल्मोले मनाउने सोनाम लोसार किन मनाइन्छ ?

काठमाडौं । सरकारले सोनाम ल्होसारको अवसरमा माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । पात्रोअनुसार कोङ्पो, तोला, सोनाम र ग्याल्पो गरी चारवटा लोसार उल्लेख भएको छ । सोनामको अर्थ कृषि हो । किसानले रोपेको खेतीको उत्पादन भित्र्याएपछि हुने खुसीयालीमा सोनाम लोसार मनाइने गरिएको परम्परा छ । सोनाम ल्होसार प्रत्येक वर्ष मञ्जुश्री पात्रोको बाह्रौं महिनाको पहिलो दिनबाट शुरु हुन्छ । कालचक्र ज्योतिष शास्त्रमा माघे संक्रान्तिबाट नयाँ खेतीपातीको कार्य शुरु हुने भएकोले किसानहरुले यसलाई नयाँ साल (ल्होसार) को रुपमा मनाउदै आएको विश्वास गरिन्छ । त्यसैले यसलाई किसानहरुको  ल्होसार भनेका हुन् । सोनाम ल्होसार  तामाङ र ह्योल्मो समुदायहरुमा मनाईन्छ ।

रिन्जी लामा शेर्पाका अनुसार ग्याल्पो लोसार  कुन ज्योतिष शास्त्रमा आधारित छ भन्ने यकिन छैन । यद्यपि हिमाली आदिवासीको पात्रो अनुसार नयाँ सालको पहिलो दिनलाई ल्होसारको रुपमा मनाएको देखिन्छ । ग्याल्पो लोसार मंगोल वादशाह जङगिच खानको विजय उत्सवको रुपमा मनाईने गरेको विश्वास गरिन्छ ।

ग्याल्पो लोसार नेपालका शेर्पा, लामा तथा भोटे समुदायहरुले मनाउने गर्छन् । जापान, चीन, हङ्गकङ्ग, ताइवान, कोरिया, थाइल्याण्ड, भुटान र तिब्बतमा पनि लोसार चाड मनाईने गरिन्छ । लोसार (नयाँ साल) को गन्ती मञ्जुश्री र कालचक्र ज्योतिषशास्त्रमा आधारित छन् । प्रत्येक वर्षको लोसार (नयाँ साल) को गन्ती र नामाकरण १२ वटा जनावरहरुको नाम, ५ धातु र २ लिङ्गबाट हुन्छ । १२ वटा जनावरको नामहरुजस्तै मुसा–चीवा, गोरु–लाङ, बाघ–तक, ह्ये–खरायो, मेघ–डुक, सर्प–डुल, घोडा–ता, भेंडा–लुक, बाँदर–टे, चरा–च्या, कुकुर–खी र बँदेल–फक हुन् । ५ धातुहरुमा माटो–स, आगो–मे, काठ–सिङ, फलाम–च्या र पानी–छ्यु हुन् भने २ लिङ्गहरु पुरुष–फो र स्त्री–मो हुन् । १२ जनावरहरुमा ५ धातु र २ लिङ्गको सहायताले १२० वर्ष सम्मको लोसार गन्ती गर्न सकिन्छ ।

पात्रोअनुसार १२ महिनाको पहिलो दिन सोनाम लोसार मनाउने चलन छ । यता पात्रोमा तिथि परिर्वतन भई नयाँ वर्ष सुरुवातसँगै १२ महिना सकेर ग्याल्पो लोसार मनाइन्छ । पात्रोमा नयाँ वर्ष परिर्वतनभन्दा पनि २०४६ सालसँगै भएको राजनीतिक परिर्वतनपछि लोसार जातिगत रूपमा मनाउने चलन बढेको छ । समुदयले यस चाडलाई ल्होछार, ल्होसार र लोसार  नामले पुकार्ने गर्दछन् ।  यसरी तिथिमिति र बिनाआधार लोसारलाई जातिगत रूपमा मनाउनुले लोसारप्रति प्रश्न उठ्नु पनि स्वभाविक छ ।

गृहमन्त्रालयका अनुसार ‘२०७७ साल माघ ३० गते शुक्रबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरीका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था र विदेशस्थित नियोगहरुमा विदा दिने  निर्णय गरेको छ ।