नेपाल समूहको मत विभाजित हुने

नेपाल समूहको मत विभाजित हुने तरुण खबर ६ जेष्ठ २०७८, बिहीबार १०:२७
नेपाल समूहको मत विभाजित हुने

एमालेका अधिकारीक उमेदबारलाई नेपाल समूहले मत नदिने
काठमाडौं । जेठ ६ गते बिहीबार राष्ट्रिय सभा सदश्यको लागि आज निर्वाचन हुँदैछ । वाग्मती प्रदेशबाट निर्वाचित थापाको पद रिक्त भएपछि उक्त स्थानमा वाग्मती प्रदेशभित्रैबाट पदपूर्ति हुनेछ । त्यसका लागि वाग्मती प्रदेशको प्रदेशसभाका १ सय १० सदस्य र स्थानीय तहका नगर प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरी ३ सय ३८ जनाले मतदान गर्नेछन् ।

त्यसका लागि एमालेबाट रामबहादुर थापा बादल र एमालेकै नेपाल समूहको समर्थनमा डा. खिमलाल देवकोटाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।  एमाले एकढिक्का हुँदा रामबहादुर थापा बादलको जित सुनिश्चित हुने देखिन्छ । तर नेपाल समूहको मत विभाजन हुँदा चर्को प्रतिश्पर्धा हुने छ । तर उपनिर्वाचनको परिणाम प्राविधिक समस्या आएन भने आजै आउन सक्ने बताइन्छ । यस्तै, राप्रपाले पनि मत आग्रह गरेको खण्डमा थापालाई सघाउने निर्णय गरेको छ । राप्रपासँग स्थानीय र प्रदेश सभामा गरी कुल एक सय ३२ मतभार रहेको छ । यसले थापाको जित थप सुनिश्चित गर्नेछ  ।

एमाले एकढिक्का हुँदा रामबहादुर थापा बादलको जित सुनिश्चित हुने देखिन्छ । यस्तै, राप्रपाले पनि मत आग्रह गरेको खण्डमा थापालाई सघाउने निर्णय गरेको छ । राप्रपासँग स्थानीय र प्रदेश सभामा गरी कुल एक सय ३२ मतभार रहेको छ ।

निर्वाचन प्रयोजनका लागि प्रदेश सांसद र स्थानीय प्रमुखहरुको पीसीआर परीक्षण र मतदानको सुरक्षा व्यवस्था मिलाइएको सरकारको दावी छ । यसैगरी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहीबार हुने राष्ट्रियसभाको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई मतदान गर्न अपील गरेका छन् । उनले नेता रामबहादुर थापा बादलको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पु-याउने अपिलमा उल्लेख गरेका छन् ।

एमाले अध्यक्ष ओलीको नेपाल समूहलाई चेतावनी
हिजो बुधबार जारी गरिएको अपिलमा ‘जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुनुहुन्छ । उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पु-याउने छ । तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु’, ओलीले आफ्नो  अपीलमा भनेका छन् ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौँ जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय एमाले पार्टीमा कल्पना बाहिरको कुरा रहेको बताएका छन् । उनले एमाले भएर एमाले उम्मेदवारलाई मत नदिने विषय क्षमायोग्य नहुने चेतावनी पनि दिएका छन् । एमालेको माधवकुमार नेपाल समूहले बादललाई मतदान गर्न नसकिने बताएकोथियो । आफ्नै पहलमा डा. खिमलाल देवकोटालाई उम्मेदवारी दिन लगाएकोले त्यसमा अन्यथा गर्न नसकिने नेता नेपालले बताएको मंगलबार साँझ उनको सचिवालयले वक्तव्य जारी गरेर प्रष्ट पारेको थियो ।

तर ओलीले एमालेको आधिकारिक उम्मेदवारलाई मत नदिए क्षमा गर्न नसकिने चेतावनी दिएका हुन् । ‘हामी सबै जनप्रतिनिधिहरु पार्टीका तर्फबाट उम्मेदवार बनेका हौँ । पार्टीका सयौँ कार्यकर्ताहरु र हजारौँ मतदाताहरुको अमूल्य मतबाट विजयी बनेर यस जिम्मेवारीमा आएका हौँ । निर्वाचन अभियानका क्रममा र विजयपछि पार्टी घोषणापत्रमा उल्लेख गरिएका विषयहरु जसरी पनि पूरा गरी छाड्ने छौँ भनेर हामीले जनतामाझ प्रतिवद्धता गरेका छौं । हामी सबैले पार्टी सदस्यता लिँदा, विभिन्न तहका जिम्मेवारी बहन गर्दा प्रत्येक पटक पार्टीप्रति वफादार हुने र पार्टीे हित विपरित काम नगर्ने सपथ लिई आएका छौँ ।

आफ्नै शपथ कुन स्वार्थ, के कारण वा कस्तो बाध्यताले हामी पालन नगर्ने बिन्दूमा पुग्छौँ ? पार्टी जीवनमा यो अकल्पनीय हो, यसो हुनै सक्दैन’, ओलीले अपिलमा भनेका छन् ।  ’प्रत्येक चुनौतीपूर्ण घडीमा हामीले आफूलाई उम्मेद्वार बनाउने पार्टीको निर्देशनलाई पालना गर्नु, आफूलाई जिताउन अहोरात्र खट्ने कार्यकर्ताको भावनालाई सम्मान गर्नु र जनतामाँझ आफूले गरेका वाचाहरुप्रति हमेशा वफादार रहनु हामी सबैको कर्तव्य हो’, ओलीले आफ्नो अपिलमा भनेका छन् । एमाले निकट स्रोतका अनुसार एमाले अध्यक्ष ओली पक्ष र नेपाल पक्षको संयुक्त कार्यदल बनाइएको छ, जुन रामबहादु थापा बादलका लागि मत आबश्यक भएकाले बनाइएको हो । उनले चुनाव हारे भने नेपाल पक्षका सबै मतदातालाई कारवाही गर्ने तयारी छ ।