तरुण खबर
२८ माघ २०७७, बुधबार १६:०४
काठमाडौं । महेन्द्रनाराण निधिको स्मृतिमा राखिएको पुरस्कार पुराना पत्रकार तथा पूर्वमन्त्री होमनाथ दाहाल र भाषा सेवी डा. रामदयाल राकेशलाई प्रदान गर्ने निर्णय भएको छ ।
अहिंसा, शान्ति, समुदायका बीच सद्भाव, सामाजिक न्याय र लोकतन्त्रका अथक योद्धा महेन्द्रनारायण निधिको स्मृति सम्मानमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा स्थापित महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार २०७६ बाट लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा विगत ६ दशकदेखि निरन्तर सक्रिय होमनाथ दाहाल र ०७७ सालको सो पुरस्कार करीव पाँच दशकदेखि भाषा, साहित्य, संस्कृति तथा अभिव्यक्ति स्वतन्त्रताका लागि नियमित साधनारत डा. रामदयाल राकेशलाई प्रदान गर्न लागेको हो ।
यसैगरी प्रेमसागरीदेवी निधिको सम्मानमा स्थापित प्रेमसागरीदेवी निधि पुरस्कार २०७६ बाट नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर क्रियाशील रहनु भएका ज्ञानु प्रसाई र ०७७ को सो पुरस्कार काशीदेवी झालाई प्रदान गर्ने निर्णय भएको छ । दुवै पुरस्कारको राशी एक/एक लाख रुपैयाँ रहेको छ ।
पुरस्कार चयनका लागि डा. विमल कोइरालाको संयोजकत्वमा डा. दिनेश भट्टराई, डा. कुमार कोइराला, श्री दुर्गा घिमिरे र प्रा. नवेन्द्र निधि रहनु भएको समितिको थियो । पुरस्कार निधिजीको एकसयौं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा आगामी फागुन १४ गते प्रदान गरिने छ ।
निधिजीको एक सयौं जन्म जयन्तीका अवसरमा फागुन १२ गते विचार गोष्ठी र १३ गते महेन्द्रनारायण निधिजीको स्मृतिमा निर्मित महेन्द्रनारायण निधि अस्पतालको भवन र निधिजीको स्मारकको अनावरण समेत गर्ने कार्यक्रम रहेको छ । ०६८ सालदेखि सञ्चालित अस्पतालको सय वेड क्षमताको आफ्नै नवनिर्मित भवन वसुन्धारामा रहेको छ ।
नेपालको इतिहासमा मधेस तराई समुदायबाट राजनीति सुरु गरी राष्ट्रिय व्यक्तित्व वन्न सफल निधिजीको यो स्मारक चुरे पहाड भन्दा माथिल्लो भागमा पहिलो मधेसी समुदायको स्मृति स्मारक हुने छ । वि.स. १९७८ फागुन १३ मा जनकपुरको नगराइनमा जन्मनु भएका निधिजीको पार्थिव अवशान २०५६ सालमा भएको थियो ।


