तरुण खबर
९ जेष्ठ २०७८, आईतवार ०९:२४
काठमाडौं । विपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपाको यादव समूह र नेपाल समूहको गठबन्धनले संसद् विघटन विरुद्ध कानूनी उपचार खोज्ने तयारी गरेको छ । आइतबार अदालत खुलेपछि रिट दायर गर्ने तयारी स्वरुप छलफल गर्न गठबन्धनमा आबद्ध दलका नेताहरुको संयुक्त बैठक शनिबार बसेको थियो । विपक्षी गठबन्धनको बैठकले मध्यरातमा भएको संसद विघटन असंवैधानिक र प्रतिगामी कदम भएको ठहर गरेको छ ।
शनिबार अन्तराष्ट्रिय सभा हल, बानेश्वरमा बसेको विपक्षी गठबन्धनका नेताहरुको बैठकले संसद विघटन संविधान र लोकतन्त्रमाथि नै प्रहार भएको निष्कर्ष निकालेको छ ।गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाकी नेतृ एवं प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भनिन् ‘बैठकमा कानूनी उपचार खोज्ने विषयमा केन्द्रत छलफल भएको थियो ।
शुक्रबार विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षर सहित वैकल्पिक प्रधानमन्त्रीको रूपमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई अघि सारेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई १५३ सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । यसका विरुद्ध प्रतिपक्षी दलहरुले कानूनी र राजनीतिक संघर्ष एकसाथ चलाउने निर्णय गरिसकेको छ ।
तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी नपुगेको भन्दै मध्यराति संसद विघटन गरी कात्तिक अन्तिम साता र मंसिर पहिलो साता चुनावको मिति घोषणा गरेकी छन् । यसअघि पनि गत पुस ५ गते पनि संसद विघटन गरिएको थियो । तर सर्वोच्चले फागुन ११ गतेको फैसलाबाट त्यसलाई उल्टाइदिएको थियो ।


