तरुण खबर
९ जेष्ठ २०७८, आईतवार १०:३०
२ करोड ९६ लाख ८४४ जनसंख्या रहेको नेपालमा ५ लाखभन्दा बढी संक्रमित
काठमाडौं । २ करोड ९६ लाख ८४४ जनसंख्या भएको नेपालमा हिजो शनिबार ८ हजार ९८० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै नेपालमा जेठ ९ गते बिहानसम्म कोरोनाभाइरसबाट संक्रमित हुनेहरूको संख्या पाँच लाख नाघेको छ । शनिबार कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या ८ हजार ८४८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हिजो शनिबार कोभिडका कारण १२९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोनाभाइरसका कारण नेपालमा ६ हजार १५३ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा कोरोनाभाइरस महामारी शुरु भएयता संमित हुनेहरूको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।
दक्षिण एशियामा भारत, पाकिस्तान र बाङ्लादेशपछि कुल संक्रमितको संख्यामा नेपाल चौथो स्थानमा पुगेको छ । १ अर्ब ३९ करोड २० लाख ४९ हजार ६४५ जनसंख्या भएको भारतमा २ करोड ६५ लाख २८ हजार ८४६, २२ करोड ४६ लाख ८८ हजार २१९ जनसंख्या रहेको पाकिस्तानमा ८ लाख ९७ हजार ४६८, १६ करोड ६१ लाख ४५ हजार ९७८ जनसंख्या भएको बाङ्लादेशमा ७ लाख ८७ हजार ७२६, २ करोड १४ लाख ९३ हजार ९१ जनसंख्या रहेको श्रीलङ्कामा १ लाख ६१ हजार २४२ र १ अर्ब ४३ करोड ९३ लाख २३ हजार ७७६ जनसंख्या रहेको चीनमा १ लाख २ हजार भन्दा बढी कुल संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयको कोभिड ड्यासबोर्डले देखाएको छ ।
यी मुलुकहरुमा संक्रमितमध्ये क्रमशः भारतमा २ लाख ९९ हजार २९६ जना, पाकिस्तानमा २० हजार १७७ जना, बंगलादेशमा १२ हजार ३४८ जना, श्रीलंकामा १ हजार १३३ जना र चीनमा ४ हजार ६३६ जनाको मृत्यु भएको छ ।


