दलहरु राष्ट्रपति विरुद्ध अदालत जाने

दलहरु राष्ट्रपति विरुद्ध अदालत जाने तरुण खबर ९ जेष्ठ २०७८, आईतवार १०:५७
दलहरु राष्ट्रपति विरुद्ध अदालत जाने

काठमाडौं । नेपाली काँग्रेस सहितका प्रतिपक्षी दलहरुले राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकेको घटनाका सन्दर्भमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादवको समूह र माधवकुमार नेपाल समूहले संविधान र लोकतन्त्र विरोधी घटना भन्दै त्यसको प्रतिरोधका लागि आफूहरूले विभिन्न विकल्पहरू सोचिरहेको बताएका थिए ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा अगाडि सारेका उनीहरूले हिजै त्यसबारे छलफल र निर्णय गर्नका लागि पार्टीका बैठकहरू समेत राखेका थिए । यसअघि राष्ट्रपति कार्यालयद्वारा शुक्रवार जारी विज्ञप्तिमा ’दाबीकर्ता दुवै माननीय सदस्यहरूका समर्थनकर्ता भनिएका सदस्यहरू एक अर्कामा दोहोरो परेका, दलको निर्णय विपरीत एकले अर्कोलाई समर्थन गरेको समेत देखिएको र सम्बन्धित दलले मान्यता नदिन लेखी आएको समेत देखिएकोले’ भन्दै दाबी गर्ने केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैको प्रधानमन्त्री पदमा नियुक्ति गर्नका लागि ’दाबी नपुग्ने’ देखिएको उल्लेख थियो ।

त्यसको केही बेरमा जेठ ८ गते शनिवारको मितिमा हस्ताक्षरित राष्ट्रपति कार्यालयकै विज्ञप्तिमा कार्तिक २६ र मङ्सिर ३ मा चुनाव हुने मिति घोषणा गरिएको थियो । प्रधानमन्त्रीमा देउवालाई झण्डै एक दर्जन सांसदहरूसाथ समर्थन गरेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिरोधका लागि ’जनता र अदालत’ दुवैकहाँ पुगिने बताएका छन् । यादवले भने– राष्ट्रपतिको कदम असंवैधानिक छ ।

संविधानमा सरकार बन्न नसकेको अवस्थामा मात्र संसद् विघटन गर्न पाइने स्पष्ट व्यवस्था छ । सरकार बन्न नसक्ने अवस्थै थिएन । हामी आजका दिनमा पनि १४९ सांसद राष्ट्रपतिकहाँ उभ्याउन सक्छौँ उनले भने । नेपाली काँग्रेसले समेत राष्ट्रपतिको निर्णयको सशक्त प्रतिरोध गर्ने रणनीति बनाउनका लागि हिजो बिहान ११ बजे पदाधिकारी बैठक बोलाएको थियो ।

यो सिधै संविधान र लोकतन्त्रमाथि ठाडो प्रहार हो । त्यसको जति नै निन्दा गरे पनि अपुग हुन्छ । लोकतन्त्र रक्षाका लागि कांग्रेसले आफूलाई सम्पूर्ण रूपमा तयार गर्छ नेताहरुले भनेका छन् । कांग्रेसका नेताहरुले भनेका छन्– चुनाव गर्ने मनसायले यो भएकै होइन, चुनाव गर्ने कुरा थियो भने हामीले बहुमत हस्ताक्षर सहित प्रधानमन्त्री दाबी गरेका थियौँ ।

ओलीजी नै पनि विधिपूर्वक अगाडि बढ्न सक्नुहुन्थ्यो । त्यस्तै जसपामा ओली विरोधी खेमाको नेतृत्व गर्ने अध्यक्ष उपेन्द्र यादव समेतले यो चुनावीको समय नभएको र चुनाव गर्न समेत नखोजिएको दाबी गरेका छन् । अर्थतन्त्र चौपट छ र जनताहरू त्रसित छन् ।