तलब बाहेकका सुविधा कटौती गरौँ : गगन थापा

तलब बाहेकका सुविधा कटौती गरौँ : गगन थापा तरुण खबर २३ बैशाख २०८०, शनिबार १९:१७
तलब बाहेकका सुविधा कटौती गरौँ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिकभार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताएका छन्। विशेषगरी स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने थापाले बताए।

नेपाल वितरक सङ्घको ११औँ वार्षिक साधारण सभालाई आज धादिङ बेँसीमा सम्बोधन गर्दै उनले भने, ‘म यो वर्ष कुनै पनि ठाउँमा कसैलाई पनि स्वास्थ्योपचारका नाममा एक रुपैयाँ पनि राष्ट्रको ढुकुटीबाट खर्च गर्दिनँ भनेर सबैले व्यवहारमा लागू गर्न सक्नुपर्छ।’

‘सांसदले तलब पाउँछ, संसद बैठक बसेको बेला सांसदहरूले बैठकभत्ता पाउँछ। त्यो ठूलो पैसा छैन। तर यो वर्ष अप्ठ्यारो परेको वर्ष भएकाले सांसदले हामी यसरी प्राप्त गरिरहेको सेवा सुविधा कटौती गर्छौं भनेर लाग्यौँ भने बल्ल देशभित्रको आर्थिक व्यवस्थापन सहज बनाउन सहयोग पुग्नेछ,’ उनले भने।

आर्थिक हिसाबले देश अप्ठ्यारो परेको वर्ष भएकाले राष्ट्रपतिदेखि सांसद हुँदै वडाध्यक्षसम्म सबैले अन्य सुविधा कटौती गरेर देशको अप्ठ्यारो फुकाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ। मुलुकको आर्थिक वृद्धिदर खुम्चिएकाले सरकारले अब ल्याउने बजेटमा पनि निर्मम भएर खर्च कटौती गर्न सक्नुपर्ने महामन्त्री थापाले बताए।