तरुण खबर
१५ जेष्ठ २०७८, शनिबार ११:५५
काठमाडौं । शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बङ्गालको खाडीबाट उत्पन्न भएको यास् चक्रवातको प्रभावले गर्दा नेपालका लगभग सबै स्थानमा शुक्रवार र शनिबार बिहानै हल्का र मध्यम वर्षा भइरहेको छ । हुन त चक्रवात कमजोर भई अहिले न्यूनचापीय क्षेत्रको रूपमा रहेको छ । तर पनि त्यसको प्रभावका कारण अधिकांश ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का र मध्यम पानी परिरहेको छ ।
गत २४ घण्टामा सबैभन्दा बढी सप्तरीको राजविराजमा १०८ मिलिमिटर पानी परेको थियो । पूर्वानुमान महाशाखाका अनुसार केही दिनदेखि नेपालमा यास् चक्रवातको असर देखिएको हो । भारतका खासगरी पूर्वी राज्यहरू र बाङ्ग्लादेशका कतिपय स्थानमा यास् चक्रवातले ठूलो जनधनको क्षति निम्त्याएका विवरण आएका छन् ।
प्रदेश नं १, २, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।


